मकवानपुर– मकवानपुरमा आज थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज हेटौंडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको ८९ जनाको स्वास परीक्षणमा ४३ जना त्यसैगरी २ जनामा एन्टीजेन बिधिबाट गरेको परीक्षणमा १ जना गरी ४४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले जानकारी दिनुभयो । संक्रमित मध्ये हेटौँडा –४ मा सबैभन्दा धेरै १० जना मानिस रहेको उहाँले जानकारी दिनुभयो । संक्रमित मध्ये १७ महिला र २७ पुरुष रहेका छन् । याेसंगै मकवानपुरमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ८ सय ९३ जना पुगेको छ ।
यस्तै मकवानपुरमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप दुईजनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा मकवानपुरगढी गाउँपालिका–५ का ६८ वर्षिय र मनहरी गाउँपालिका वडा नम्बर–१ मकरीका दुईजनाको मृत्यु भएको हो । मकवानपुरगढी गाउँपालिका–५ का ६८ वर्षिय पुरुषको हेटौंडा अस्पतालको कोभिड वार्डमा उपचार गर्दागर्दै मृत्यु भएको अस्पतालका डाक्टर सागर काफ्लेले जानकारी दिनुभयो । यस्तै मनहरी गाउँपालिकाका पुरुषको घरमै मृत्यु भएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो । योसंगै मकवानपुरमा दोस्रो चरणको कोरोना भाईरसका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ भने हालसम्म जिल्लामा ४२ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ ।