काठमाडौँ– नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद् सचिवालयमा आज बुझाएको छ । माओवादी केन्द्रको स्थायी समिति बैठकको निर्णय अनुसार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी पत्र आज संसद् सचिवालयमा बुझाएको हो ।
माओवादी केन्द्रका प्रमुख सेचतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई समर्थन फिर्ताको पत्र बुझाउनुभएको हो । प्रतिनिधिसभा पुनस्र्थापनासँगै लामो समयदेखि प्रधानमन्त्री ओलीको राजीनामा माग गरिरहेको माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको थिएन । प्रधानमन्त्री ओलीले विश्वासको मत लिनेभएपछि माओवादीले समर्थन फिर्ता लिने निर्णय गरेको हो । माओवादीले सर्मथन फिर्ता लिएपनि प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरे अनुसार सो दिन प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाइएको छ ।