मकवानपुर । प्रेस चौतारी मकवानपुरले जनैपूणिर्माको अवसरमा बिहीबार सामुहिक रक्षाबन्धन पर्व बिशेष कार्यक्रम गरेको छ । प्रेस चौतारी मकवानपुरको महिला बिभागले जनैपूर्णिमाका अवसरमा दाजुभाइ र दिदीबहिनीबिच प्रेमको प्रतिकका रुपमा मानिने रक्षाबन्धन (डोरो) बाँधेर पर्व मनाईएको हो ।
कार्यक्रममा पत्रकार महिलाहरूले पुरुषहरूलाई सामुहिक रुपमा क्षाबन्धन (डोरो) बाँधेर पर्व मनाएका थिए । पत्रकार महिलाहरू र पुरुषबीच आपसी भातृत्व, प्रेम अझै प्रगाढ रहोस भनेर पर्व मनाइएको आयोजकले जनाएको छ । कार्यक्रममा पत्रकार महिला तथा पुरुषहरुले आपसमा सामुहिक रक्षाबन्धन बाँधेर शुभकामना आदनप्रदान गरेका थिए । महिलाहरुलाई हरेक वर्ष तीजमा पुरुषहरुले विशेष कार्यक्रम आयोजना गर्ने दर खुवाउने रमाइलोमा सहभागी गराउने गरेको भए पनि प्रेस चौतारी मकवानपुरमा पुरुषहरुको लागि जनैपूर्णिमाको दिन रक्षाबन्धन बाँधेर पर्व मनाइएको यो पहिलो पटक हो ।
समाजलाई सहीमार्गमा ल्याउन तथा सही संस्कारको मार्ग दर्शकको रुपमा समेत पत्रकारिताले योगदान गर्न सक्ने प्रेस चौतारी नेपाल पुर्व केन्द्रिय सदस्य सरिता दाहालले बताउनुभयो । ‘त्यसैले हामीले राखी भन्दा रक्षाबन्धनलाई छनौट गरेका हौ’ उहाँले भन्नुभयो । पत्रकारिताको क्रममा सधैं एउटै फिल्डमा हिड्ने क्रम आपतविपत पर्दा महिला पुरषले दाजुभाइ र दिदीबहिनीका रुपमा सहयोग, भातृत्व, अभिभावकत्व र मित्रताको आभाष सधै भएको उहाँले बतानुभयो । केन्द्रिय सदस्य दाहालले औपचारिका रुपमै यसरी कार्यक्रम गरेको साथै अवसर प्रदान गरेको भन्दै चौतारी मकवापुर महिला विभागलाई धन्यवाद दिनुभयो । नेपाली संस्कृती र परम्परालाई समान मान्यता दिन पनि यस्ता कार्यक्रमहरु आवश्यक रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले चौतारी महिला विभाग रचनात्मक काममा लागि परेको भन्दै प्रशंसा गर्नुभयो । ‘यसरी नेपाली संस्कृति र परम्पराको जगेर्नामा चौतारीका साथीहरु लाग्नु भएको छ, यो काम उच्चप्रशंसा गर्न लायक छ’ अधिकारीले भन्नुभयो । कार्यक्रममा प्रेस चौतारीका पूर्व केन्द्रिय सदस्यहरु, प्रदेश कमिटी सदस्यहरु, जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरुको सभागीता रहेको थियो । कार्यक्रम चौतारी मकवानपुर उपाध्यक्ष एवम् महिला विभाग प्रमुख सुनिता विष्टको अध्यक्षतामा भएको चौतारी मकवानपुरकी सहसचिव मनिता रानाले बताउनुभयो ।