मकवानपुर – बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले समाज परिवर्तनका लागि युवाहरूको सहभागितासँगै युवामा रूपान्तरण आवश्यक रहेको बताउनुभएको छ । एमनेस्टी इन्टरनेसनल नेपालको १४ औँ राष्ट्रिय युवा मेलाको सोमबार हेटौँडामा उद्घाटन गर्नुहुँदै सभामुख श्रेष्ठले युवा देशको मेरुदण्ड एवम् समाज रूपान्तरणको संवाहक भएकाले हरेक क्षेत्रमा युवा सहभागिता आवश्यक रहेको बताउनुभयो ।

युवाले परिवर्तनबाट रूपान्तरण गर्न सक्ने हुँदा हरेक क्षेत्रमा युवा सहभागिता र नेतृत्व गर्ने अवसर दिनु आवश्यक रहेको उहाँको भनाई थियो । उहाँले युवालाई भविष्यको कर्णधार मात्र हैन वर्तमानको साझेदार बनाउनु पर्नेमा जोड दिनुभयो । जलवायु परिवर्तनसँग जुध्न युवाहरूको भूमिका र जलवायु परिवर्तन तथा मानवअधिकार बिचको सम्बन्धका बारेमा युवाहरूको क्षमता अभिवृद्धि गर्ने, सङ्क्रमणकालीन न्याय र अपाङ्गता लगायत मानवअधिकारका विषयमा युवाहरूको ज्ञान र दक्षता बढाउने उद्देश्यका साथ मेला आयोजना गरिएको जनाइएको छ । यस्तै मेलामा सहभागी युवाहरूले हिरासतमा मृत्युका घटनाहरू रोक्न आवश्यक कदम चाल्न प्रधानमन्त्री शेर बहादुर देउवालाई अनुरोध गर्दै हस्ताक्षर सङ्कलन गर्ने तथा अफगानिस्तानमा युद्ध अपराधका पीडित र परिवारका सदस्यहरूका लागि न्याय र परिपूरणको माग गर्दै फोटो एक्सन समेत गरिने जनाइएको छ ।

एमनेस्टी ईन्टरनेसनल नेपालका अध्यक्ष विक्रम ढुकुचुको सभाध्यक्षतामा भएको कार्यक्रममा बोर्ड सदस्य राजु सत्याल, महेश पौडेल, सञ्चिता लुइँटेल, निर्देशक नीराजन थपलिया, समूह ६७ का संयोजक उत्तम शर्मा ढकाल लयागतले मन्तव्य व्यक्त गर्नुभएको थियो । मेलामा एमनेस्टी ईन्टरनेसनल नेपालसँग आबद्ध देशभरका ५० भन्दा बढी यूथ नेटवर्कहरूबाट करिब १०० युवाको सहभागिता रहेको छ ।