काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रेस चौतारी नेपालद्वारा आज बालुवाटारमा आयोजित सञ्चारकर्मीहरू सँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले लोकतान्त्रिक मान्यता अनुरूपको निर्वाचन हुनेमा विश्वस्त हुन आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले निर्वाचनको अब विकल्प नरहेको हुनाले त्यसको तयारीमा जुट्न सबै राजनैतिक दलहरूलाई आग्रह समेत गर्नुभयो । प्रधानमन्त्री ओलीले दलीय व्यवस्थाको मान्यता विपरीत विपक्षी गठबन्धनले सरकारको नेतृत्वमा अनुचित र जालसाजी पूर्ण दाबी गरेका कारण देश मध्यावधि निर्वाचनमा धकेलिएको बताउनुभयो । प्रधानमन्त्री ओलीले आगामी बजेटमा नागरिकको जीवन रक्षा एवं विकास निर्माणका कामले मुख्य प्राथमिकता पाउने बताउनुभयो । उहाँले सस्तो लोकप्रियताका लागि दीर्घकालीन प्रभाव पार्ने खालका कुनै कार्यक्रमहरू बजेटमा समावेश गर्ने पक्षमा सरकार नरहेको समेत स्पष्ट पार्नुभयो ।