मकवानपुर – बागमती प्रदेश सभाको आठौं एवम् बजेट अधिवेशन आगामी जेठ १६ गतेका लागि आह्वान गरिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले आईतबार (आज) प्रदेशसभाको आठौं अधिवेशन आह्वान गर्नुभएको हो ।
प्रदेश प्रमुख प्रसाईंले संविधानको धारा १८३ को उपधारा १ बमोजिम आगामी जेठ १६ गते आइतबार ३ बजेका लागि आह्वान गर्नुभएको हो । प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने तथा त्यसको १५ दिन अगाडि प्रि–बजेट सदनमा पेस गर्नुपर्ने बाध्यकारी व्यवस्था अनुसार प्रदेश सभाको आह्वान गरिएको हो । प्रि–बजेट छलफलपश्चात् नीति तथा कार्यक्रम घोषणा गरिने र तोकिएको समयमै बजेट ल्याउने गरी मन्त्रालयले तयारी गरिरहेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिनुभयो ।
प्रदेश सभाको आठौं अधिवेशनमा आगामी आर्थिक वर्षको प्रि बजेटसंगै लामो समयदेखि दर्ता भएर रहेको पर्यटनसम्बन्धी विधेयक र सातौं अधिवेशनमै पेस हुनुपर्ने लोकसेवा आयोगको प्रतिवेदन, मुख्य न्यायाधिवक्ता कार्यालयको प्रतिवेदन र समितिको प्रतिवेदनहरु पेस हुने प्रदेशसभा सचिव कृष्ण हरि खड्काले जानकारी दिनुभयो ।