चितवन – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्टेर्ट पार्टनरशिप प्रोग्राम (एसपीपी) पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सरकारको पालामा भएको दाबी गर्नुभएकाे छ । भरतपुर महानगरपालिकाले आज शुक्रवार आयोजना गरेको भरतपुर महानगरको आउँदो कार्यदिशा विषयक अन्तरक्रियामा उहाँले भन्नुभयो, ‘राष्ट्रवादको ढोङकाे पछि नलाग्न र सक्कली राष्ट्रवाद हुन पनि अपिल गर्दछु ।’
यस्तै प्रचण्डले शान्ति प्रक्रिया टुङ्गोमा लगाउने बेलासम्म पाँच दलीय गठबन्धन कायम रहने बताउनुभयाे । सङ्घ र प्रदेशको चुनावसम्म मात्रै नभएर शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउने र विकासको नयाँ युगतिर लैजानका लागि पनि सामूहिकतामा नै जाने उहाँकाे भनाइ छ । देशलाई अब कसैले प्रतिगमनतर्फ लान नसक्ने भन्दै उहाँले भन्नुभयो, ‘अहिले पनि समस्या र चुनौती त छन्, यद्यपि गठबन्धनको सरकारले ती मुद्दा समाधान गर्दै अघि बढेको छ ।’ अहिले देशमा एक्लै हिँड्ने प्रवृत्ति र मिलेर हिँड्ने प्रवृत्तिका बीचमा लडाइँ भइरहेको उहाँले बताउनुभयो । हरेक पार्टीभित्र पनि यो प्रवृत्ति कायम रहेको भन्दै उहाँले भन्नुभयो, ‘हिजो प्रतिगमनतिर जान खोज्ने, संविधान मिच्न खोज्ने, लोकतन्त्रलाई मास्न खोज्ने प्रवृत्ति एक्लै हिँडेको छ । अर्को सबै मिलेर जाउँ भन्ने प्रवृत्ति रहेको छ ।’
एकताको पक्ष र विरोधीका बीचमा अहिले लडाइँ चलिरहेको उहाँले बताउनुभयो ।अध्यक्ष दाहालले चितवनको भरतपुर अस्पताललाई शिक्षण अस्पताल बनाउन आफूले पहल थाल्ने बताउनुभयो ।भरतपुर महानगरपालिकामा विगतमा भएका विकासको प्रशंसा गर्दै उहाँले यसअघि पहिलो प्राथमिकता सडक रहेको भन्दै अबको प्राथमिकता उत्पादन, रोजगारी, सामाजिक सुरक्षा र न्यायतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो । विकासका हिसाबले आफ्नो ध्यान देशभरनै पुग्ने भए पनि यहाँको विकास देशकै लागि नमुना बन्ने उहाँले बताउनुभयो ।