काठमाण्डौ – नेपालमा ६८ प्रतिशतभन्दा धेरै मानिसमा कोभिड १९ (कोरोना भाइरस) को एन्टिबडी तयार भएको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका ६ महिनाभन्दा बढी उमेर समूहका १३ हजार एक सय ६१ जनामा गरेको परीक्षणमा ६८ दशमलव ६ प्रतिशतमा कोरोना भाइरसको एन्टिबडी बनेको पाइएको हो ।
कोरोना सङ्क्रमण भएर तथा कारोनाविरुद्धको खोप लगाएर उनीहरूमा एन्टिबडी तयार भएको हो । सबै प्रदेश, भौगोलिक क्षेत्र, सहर तथा गाउँ, लिङ्ग, पेसा वा उमेरका मानिसमा एन्टिबडीको उस्तै अवस्था देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै नेपालमा कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएकामा ८० प्रतिशतमा र पूर्ण मात्रा खोप लगाएकामा ९० प्रतिशतमा एन्टिबडी पाइएको छ । यसबाट नेपालमा खोपको प्रभावकारिता पनि राम्रो रहेको पाइएको मन्त्रालयले जनाएको छ । यस्तै जति धेरै मानिसमा एन्टिबडी तयार हुन्छ महामारी नियन्त्रणमा उत्तिकै सहज हुने भएकाले बढी व्यक्तिमा एन्टिबडी तयार हुनु राम्रो हो । धेरै मानिसमा एन्टिबडी देखिए पनि भाइरसले रूप बदलिरहने डर भएकाले मास्क लगाउने, दुरी कायम गर्ने, हात धुने लगायतका स्वास्थ्यका मापदण्ड पालना गरिरहनु कोरोना महामारी नियन्त्रणको प्रभावकारी उपाय भएको मन्त्रालयले जनाएको छ ।