चीनले नेपालको नयाँ चुच्चे नक्सा नसमेटेको भन्दै काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र ‘बालेन’ शाहले चीन भ्रमण रद्द गर्नुभएको छ । केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई भारतको क्षेत्रमा देखाएर नक्सा प्रकाशन गरेको भन्दै मेयर शाहले असन्तुष्टि जनाउनुभएको छ ।
नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनुलाई हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदमका रूपमा लिएको मेयर शाहको भनाइ छ । चीनको कदमको विरोधमा आज बिहीवारदेखि हुने भनिएको पाँच दिने चीन भ्रमणमा नैतिकताको आधारमा नजाने निर्णय गरेको उहाँले उल्लेख गर्नुभएको छ । नेपालले २०७७ साल जेठ ७ गते लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेको थियो ।