अविरल वर्षाका कारण जेठ ३१ गतेदेखि देशका विभिन्न ठाउँमा आएको बाढी र पहिराेमा परेर आज साेमवार दिउँसाेसम्म छ जनाको ज्यान गएकाे छ । बाढी र पहिराेमा परेर सङ्खुवासभामा एक, ताप्लेजुङमा तीन, पाँचथरमा एक र नुवाकोटमा एक गरी छ जनाको ज्यान गएकाे प्रहरी प्रधान कार्यालयले जनाएको छ । ज्यान गुमाउनेमा पाँच जना पुरुष र एक जना बालिका रहेका छन् ।
बाढी र पहिराेमा परेर सङ्खुवासभामा तीन, ताप्लेजुङमा दुई र पाँचथरमा एक गरी छ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ । बाढी र पहिराेमा परेर सङ्खुवासभामा २१, ताप्लेजुङमा तीन र पाँचथरमा पाँच गरी २९ जना बेपत्ता अझै बेपत्ता भएका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक कुबेर बडायतले बताउनुभयो । बेपत्ताको खोजी भइरहेको पनि उहाँले बताउनुभयो ।
बाढी र पहिराेका कारण ३५ घर, १० गोठ, १३ पुल, पाँच उद्योग र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ६७ वटा पशुचौपाया मरेका छन् । यस अवधिमा विपद्का घटनाबाट ९७ परिवार विस्थापित भएका छन् । साथै बाढी र पहिराेको जोखिममा रहेका परिवारलाई सुरक्षित ठाउँमा राख्ने, बाटाेकाे अवराेध हटाउनेलगायतका काम भइरहेकाे प्रहरीले जनाएकाे छ । रासस