हेटाैंडा – निर्वाचन आयोगले देशभर रहेका २२ हजार भन्दा बढी मतदान केन्द्रमध्ये एक सय मतदान केन्द्रलाई अपाङ्गमैत्री बनाउने भएको छ । मतदान केन्द्र बनाउँदा अपाङ्गता भएका व्यक्तिलाई सजिलैसँग आवतजावत गर्न, मतसङ्केत गर्न र मत खसाल्न मिल्ने गरी बनाउन निर्वाचनमा खटिने कर्मचारीलाई निर्देशन दिएको छ ।
आयोगका अनुसार मतदान केन्द्रमा साङ्केतिक भाषा सूची पनि राखिनेछ भने मतदान स्थलमा प्रवेश गर्ने ठाउँबाटै रङ्गीचङ्गी डोरी तथा पोल राखिनेछ । त्यसैगरी ती मतदान केन्द्रहरूमा र्याम्प निर्माण गरी ह्विलचियर प्रवेश गर्न सहज बनाइने आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले बताउनुभयो । मतदान केन्द्रमा, अपाङ्गता भएका व्यक्तिका लागि आराम गर्न टेबुल तथा कुर्सीको व्यवस्था पनि गरिनेछ । मतदान गर्न जाँदा सहयोगी चाहिए त्यसको पनि व्यवस्था गरिनेछ । विगतका निर्वाचनहरूमा अपाङ्गता भएका मतदाताहरूले मतदान स्थलसम्म पुगेर मत खसाल्न कठिनाइ भोग्दै आएका थिए । निर्वाचन आयोगले पहिलो पटक पाइलट प्रोजेक्टका रुपमा एक सय मतदान केन्द्रलाई अपाङ्गतामैत्री बनाएको हो ।
राष्ट्रिय अपाङ्ग महिला महासङ्घकी अध्यक्ष निर्मला धिताल आयोगले अपाङ्गता भएका मतदातालाई लक्षित गरी गरेको यो कदम राम्रो भएको र अवका निर्वाचनहरूमा सबै मतदान केन्द्रलाई नै अपाङ्गतामैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । २०६८ को जनगणना अनुसार ५ लाख १३ हजार ९ सय १३ अपाङ्गता भएकाहरू छन् । त्यतिखेरका बालबालिकासमेत अहिले अधिकांश मतदाता भइसकेका छन् । मतदाता नामावलीमा नाम समावेश भएका कोही पनि मतदाता मतदानको अधिकारबाट वञ्चित हुनुहुँदैन भनेर आयोगले गरेको यो निर्णयलाई सकारात्मक छ ।