file photo

डिजलको भाउ घटेपछि लामो दूरी र बाग्मती प्रदेशमा भाडादर घटेको छ । तर अझै ६ वटा प्रदेशमा छोटो दूरीको गाडी भाडा घटेको छैन । सुदूरपश्चिम, कोशी, मधेस, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अन्तर पालिका भाडादर अहिलेसम्म समायोजन हुन नसकेको हो । वैज्ञानिक भाडादर प्रणाली अनुसार पेट्रोल र डिजलको मूल्यमा ५ प्रतिशत तलमाथि भएमा भाडादर समायोजन गर्नुपर्ने हुन्छ ।
भाडादर समायोजन गर्दा ३५ प्रतिशत पेट्रोलियम पदार्थ र ६५ प्रतिशत बाँकी पक्षलाई आधार मान्नुपर्ने यातायात व्यवस्था विभागले जनाएको छ । विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार यो व्यवस्था अनुसार अहिले डिजलको भाउ घटेकाले सरकारले लामो दूरीमा समायोजन गरी घटेको भाडादर गएको बुधवारदेखि नै कार्यान्वयनमा आएको र बाग्मतीमा पनि ढिला गरी हिजोदेखि लागू भएको छ । उहाँका अनुसार सुदूरपश्चिम प्रदेश सरकारले समायोजन प्रणालीबारे जानकारी मागेको छ तर अरु पाँच वटा प्रदेशले यसबारेमा चासो नै राखेका छैनन् ।
बाग्मतीमा पर्ने काठमाण्डौ उपत्यकाभित्रको न्यूनतम भाडा एक रुपैयाँ घटेको छ । पहिले पाँच किलोमिटरसम्मको गाडीभाडा २० रुपैयाँ रहेकोमा अब १९ रुपैयाँ कायम भएको छ । यस्तै, १० किलोमिटरसम्मको गाडीभाडा २७ रुपैयाँबाट २५ रुपैयाँ, १५ किलोमिटरसम्मकोमा ३२ रुपैयाँबाट ३० रुपैयाँ, २० किलोमिटरसम्मकोमा ३५ रुपैयाँबाट ३३ रुपैयाँ तथा २० किलोमिटरभन्दा माथिकोमा ४० रुपैयाँबाट ३८ रुपैयाँ कायम भएको छ । तर, बाग्मतीमा घटेको भाडादर कार्यान्वयनमा समस्या छ ।एक–दुई रुपैयाँ खुद्रा बोक्नुपर्ने भएकाले यात्रु र गाडीवालाका बीचमा कारोबारको समस्या छ । गाडीवालाले चानचुन पैसा नभएको बहानामा यात्रुलाई ठग्ने गरेका छन् । तोकिएको भन्दा धेरै भाडा लिएको पाइएमा उनीहरुलाई कारबाही हुने व्यवस्था छ । जिम्मेवार निकायका प्रतिनिधि सहभागी टोलीले भाडादरको अनुगमन गनुपर्ने व्यवस्था भए पनि अनुगमन र कारबाही फितलो छ । यात्रु र गाडीवाला दुवै जिम्मेवार बनेर सकेसम्म चानचुन बोकेर हिँड्न र यात्रा गर्न विभागका महानिर्देशक भट्टराईको आग्रह छ । सार्वजनिक गाडीले रुट अनुसारको भाडादर सबै यात्रुले देख्ने गरी टाँस्नुपर्ने, टिकट काउन्टरमा पनि सूची राख्नुपर्ने कानुनी व्यवस्था छ । तर, धेरैजसो सार्वजनिक गाडीले भाडादरको सूची टाँस्ने गरेका छैनन् ।