मकवानपुर — मकवानपुर र काठमाडौं जोड्ने छोटो दूरीको मार्ग थानकोट-चित्लाङ सडक (गणेशमान मार्ग) बिहान र बेलुकाको समयमा मात्रै खुला गरिएको छ । सडक डिभिजन कार्यालय काठमाडौंले सडक एक महिनाका लागि पूर्ण रूपमा बन्द गरेको थियो ।
स्थानीय बासिन्दाको समस्याप्रति बेवास्ता गर्दै विकल्पबिना सडक बन्द गरिएको भन्दै नागरिकस्तरबाट विरोध जनाएपछि बिहान र बेलुकाका लागि मात्रै खुल्ला गरिएको हो ।
थाहा नगरपालिका– ९ का कार्यवाहक वडाध्यक्ष रामकृष्ण कपालीले सडक पूर्ण रूपमा बन्द गर्दा यात्रुहरूलाई हुने असुविधालाई दृष्टिगत गरी सडक डिभिजन कार्यालयसँगको सहकार्यमा आंशिक रूपमा सवारी साधन सञ्चालन गर्ने व्यवस्था मिलाएको बताउनुभयाे । उहाँका अनुसार, थानकोट–चित्लाङ सडक स्तरोन्नतिका क्रममा बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म बन्द हुने र यस बाहेकको समय सवारीका साधन सञ्चालन गर्न पाउनेछ ।
वडा कार्यालयले चन्द्रागिरी नगरपालिका–४ को कार्यालय, प्रहरी चेकपोस्ट, चन्द्रागिरी र इलाका प्रहरी कार्यालय, चित्लाङलाई आवश्यक सहयोग तथा समन्वयका लागि पत्राचार गरेको छ । थाहा नगरपालिका–१० का अध्यक्ष दीपक गोपालीले सडक डिभिजन कार्यालय, काठमाडौं र वडाध्यक्षसहित गएको प्रतिनिधिमण्डलबीच बिहान ९ बजेअगावै र दिउँसोको ४ बजेपछि सवारी साधन प्रवेश गरिसक्नुपर्ने गरी सहमति भएको बताउनुभयाे ।
सडक डिभिजन कार्यालय काठमाडौंले उक्त सडकको पानीघाटदेखि चन्द्रागिरि भञ्ज्याङखण्ड पुस ७ गते आइतबारदेखि आगामी माघ ६ गतेसम्म पूर्ण रूपमा आवागमन बन्द हुने भनिएको थियो ।