हेटौंडा– किसानले उत्पादन गरेका सामग्रीलाई सहज ढंगबाट बजारीकरणमा सहयोग पु¥याउने उद्देश्य अनुरुप हेटौंडा उपमहानगरपालिकाले चिस्यान सहितको कृषि एम्बुलेन्स हस्तान्तरण गरेको छ । संघिय सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मार्फत पालिकामा चिस्यान सहितको कृषि एम्बुलेन्स खरिदका लागि आएको १९ लाख रुपियाँमा थप गरी खरीद गरेको कृषि उत्पादन बोक्ने सवारी हेटौंडा १३ को आधामार कृषक समुहलाई हस्तान्तरण गरेको हो ।
संघ बाट आएको पैसामा उपमहानगरको कार्यपालिका बैठकले थप रकम लगानी गरी खुल्ला प्रतिश्पर्धा मार्फत ३४ लाख ९० हजार रुपियाँको लागतमा खरीद भएको कृषि एम्बुलेन्स मंगलबार आधामार कृषक समुहका अध्यक्ष फेन्चु लामालाई हस्तान्तरण गरीएको हो । गत आर्थिक बर्ष २०८०/०८१ मा खरीद गरीएको कृषि एम्बुलेन्स सञ्चालनका लागि उपमहानगरले सुचना जारी गरेपछि परेको २ वटा कृषक समुह मध्य मुल्याङकनका आधारमा आधामारलाई योग्य मान्र्दै हस्तान्तरण गरीएको उपमहानगर कृषि शाखाका प्रमुख प्रदिप रेग्मीले बताए । उनका अनुसार चिस्यान सहितको एम्बुलेन्स भएकाले फलफुल, तरकारी सहितको उत्पादनलाई स्वच्छ ढंगबाट बजार सम्म लैजानका लागि आधामार योग्य देखिएकाले सञ्चालनको जिम्मेवारी दिइएको हो । यस अघि मंगलबार नै उपमहानगरपालिकाले जिल्लाको पुर्वि भेगमा रहेको बागमती गाउँपालिकालाई बिपद्मा आवश्यक दमकल, सुमो, पिकअप लगायत सवारी हस्तान्तरण गरेको थियो ।