हेटौंडा– बागमती प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँले मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमबाट बच्न आवश्यक सुरक्षा अभियानका लागि खर्च गर्ने गरी कुल ५ लाख रुपैयाँ सहयोग घोषणा गर्नुभएको छ । बानियाँले आज प्रेस विज्ञप्ति जारी गर्नुहुँदै मनहरीलाई एक लाख रुपैयाँ तथा राक्सिराङ र कैलाश गाउँपालिकालाई २/२ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको हो ।
विपन्न समुदायको समेत बसोबास रहेको राक्सिराङ तथा कैला गाउँपालिकासहित आफ्नो निर्वाचन क्षेत्र समेत भएकोले मनहरी समेतलाई रकम सहयोग गरेको उल्लेख गर्नुभएको छ । राक्सिराङ गाउँपालिकाले कोरोना भाइरस रोकथाम कोषको स्थापना गरी संक्रमणको आशंका भए उपचारका लागि जनही ५ हजार रुपैयाँ सहयोग गर्ने निर्णयको स्वागत गर्नुहुँदै बानियाँले बागमती प्रदेशभरका विपन्न समुदायका परिवार र असंगठित रुपमा कार्यरत कामदार मजदुरलाई खाद्य सामग्री उपलब्ध गराउन संघीय सरकार र बागमती प्रदेश सरकारसँग आग्रहसमेत गर्नुभएको छ । कोरोना भाइरसविरुद्धको अभियानमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, पत्रकारलाई आफ्नो सुरक्षामा ध्यान दिन पनि अनुरोध गर्नुभएको छ ।