राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दै छ । रास्वपाले सरकारमा सहभागिता र सरकारलाई दिएको समर्थन कायम राख्ने कि नराख्ने भन्ने विषयमा निर्णय गर्नका लागि बैठक बोलाएको हो ।
आज साँझ ५ बजे बस्ने बैठकले सरकारबारे निर्णय गर्ने रास्वपाका एक नेताले जानकारी दिनुभयाे । नागरिकता विवादमा सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरिदिए पछि रास्वपा सरकारबाट बाहिरिएको थियो । तर उसले सरकारको समर्थन भने कायमै राखेको छ ।
गत वैशाख १० गते भएको उपनिर्वाचनबाट पार्टी सभापति लामिछाने पुनः निर्वाचित भएर आएपछि दोस्रो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । प्रधानमन्त्री प्रचण्ड पनि रास्वपालाई सरकारमा ल्याउने प्रयासमा छन् । यस अघि रास्वपाले उपप्रधानसहित गृह, शिक्षा विज्ञान तथा प्रविधि र श्रम रोजगार तथा सामाजिक विकास मन्त्रालय पाएको थियो भने स्वास्थ्यमा राज्यमन्त्री उसको भागमा परेको थियो । तर यी मन्त्रालय रास्वपाले पाउने अवस्था छैन ।