पृथ्वीको नजिकै भएर एउटा क्षुद्रग्रह गएको अमेरकाका खगोलविद्हरुले बताएका छन् । एउटा मिनिबस जत्रो आकारको क्षुद्रग्रह वा अन्तरिक्ष चट्टान पृथ्वीभन्दा तीन हजार ६ सय किलोमिटर नजिकसम्म आएर पार भएको खगोलिविद्हरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अन्तरिक्षमा यो दुरी निकै कम हो ।
खगोलविद्हरुले त्यस क्षुद्रग्रहको नाम २०२३ बीयू राखेका छन् । छुद्रग्रह पृथ्वीको क्षेत्रबाट पार भएसँगै एउटा ठूलो दुर्घटना टरेर गएको छ । यो घटनाले अन्तरिक्षमा पृथ्वीको नजिकै ठूला आकारका क्षुद्रग्रहहरू छन् र उनीहरुको पहिचान गर्न बाँकी छ भन्ने देखाएको छ । यो क्षुद्रग्रहलाई अघिल्लो हप्तामात्र खगोलविद् गेन्नाडी बोरिसोभले फेला पार्नुभएको हो ।
उहाँले प्राप्त गरेको सूचनालाई थप खोज अनुसन्धान गरेपछि २०२३ बीयू नाम दिइएको त्यस क्षुद्रग्रहको आकार र त्यसले अघि बढ्न लिइरहेको बाटोका बारेमा थाहा हुन सकेको थियो । त्याे क्षुद्रग्रह मानिसले अन्तरिक्षमा पठाएका दूरसञ्चार भूउपग्रहहरू रहेका क्षेत्रभित्रै प्रवेश गरेको थियो । क्षुद्रग्रह भूउपग्रहहरूसँग ठोक्किने सम्भावना भने निकै नै कम हुने विज्ञहरु बताउँछन् ।