मकवानपुर – बागमती प्रदेश सरकारले सुरुङ्ग मार्ग निर्माण स्थगन गरेको प्रति राजधानी हेटौंडाका नागरिक समाजका प्रतिनिधिले आक्रोश व्यक्त गरेका छन् । जिल्ला समन्वय समिति मकवानपुरकाे आयोजनामा बिहीबार भएकाे कार्यक्रममा नागरिक समाजका अगुवाहरुले सुरुङ्मार्ग निर्माण र विद्युतीय बस सञ्चालन स्थगन गर्ने प्रदेश सरकारको निर्णय प्रति आक्रोश व्यक्त गरेका हुन् ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सहभागिहरुले प्रदेश सरकारले एकपछि अर्को गर्दै विकासका परियोजनाहरु रोकेको भन्दै विकास बिरोधि काम भएको बताएका छन् । सरकारमा व्यक्ति परिर्वतन हुँदैमा सरकारको नीति तथा कार्यक्रम परिर्वतन हुन नहुने भन्दै उनिहरुले बर्तमान सरकारले पूर्वाग्राही भएर महत्वपूर्ण योजना रोकेको आरोप समेत लगाएका छन् । विकासको काममा पूर्वाग्रह राख्न नहुने भन्दै उनिहरुले जुनसुकै सरकारले ल्याएको भएपनि कुनै पनि परियोजना राेकिन नहुने बताएका छन् ।

सुरुङ्ग मार्ग निर्माणले प्रदेशको राजधानीसंग केन्द्रिय राजधानी जोडिने साथै औद्योगिक विकासका लागि पनि आवश्यक रहेको भन्दै सरकारले परियोजना अगाडी बढाउनु पर्ने धारणा राखेका छन् । लगानी, सम्भाव्यता र विकासको हिसाबले महत्वपूर्ण रहेको भन्दै उनिहरुले जनताको अभिमत नबुझिकन परियोजना रोकिनु विकास बिरोधि काम भएको बताएका छन् । सरकारका परियोजना रोकिनाले जनताको सरकार प्रतिको विश्वास समेत गुमेको भन्दै आगामी दिनमा सरकारले अन्य कुनै परियोजना सञ्चालन गर्दा समेत यसले असर गर्ने उनिहरुको भनाई थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनी, उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष कृष्ण अग्रबाल, उद्योग संघ हेटौंडाका अध्यक्ष लेखराज पोखरेल, यातायात सम्बद्द संस्थाबाट गाेकर्ण पराजुली र सराेज खनाल, बरिष्ट पत्रकार प्रताप बिष्ट, वन उपभोक्ता महासंघका अध्यक्ष साधुराम चौलागाई, गैसस महासंघका सहसचिव दिपेन्द्र पाठक, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, सहयोगि मन नेपालका अध्यक्ष केदार चौलागाई, टाेल विकास संस्था नगर समन्वय समिति हेटाैंडाका चन्द्रावती पनेरूलगायत विभिन्न सामाजिक संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिति थियो ।