नेपाली कांग्रेसले राष्ट्रियसभा उम्मेदवारको टुङ्गो लगाएको छ । कांग्रेसले कोशीमा कृष्णप्रसाद सिटौला र मधेसमा आनन्द ढुंगानालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । यस्तै बागमती प्रदेशको अन्यतर्फ जितजंग बस्नेत र महिलातर्फ विष्णुकुमारी पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ । गण्डकी प्रदेशको अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगतर्फ पदमबहादुर परियार र लुम्बिनीको महिलातर्फत विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।
कर्णालीको अन्यतर्फ कृष्णबहादुर रोकाया र सुदूरपश्चिमको अन्यमा बलदेव बोहरा र अपांगतर्फ नारायणदत्त भट्टलाई उम्मेदवार बनाउने निर्णय भएको सो पार्टीले जनाएको छ । सत्ता गठबन्धनको हिजो बसेको बैठकले संयुक्तरुपमा उम्मेदवार उठाउने निर्णय गर्दै सिट बाँडफाँट गरेको थियो । नेपाली कांग्रेसले १०, नेकपा (माओवादी केन्द्र)ले छ, नेकपा (एकीकृत समाजवादी)ले दुई र जनता समाजवादी पार्टी नेपालले एक सिटमा उम्मेदवारी दिने गरी सहमति भएको हो । बाँकी रहेको एक सिटमा भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ ।