file photo

लगातारको वर्षाका कारण मुलुकको ठूलो कृत्रिम जलाशय (कुलेखानी) मा पानीको सतह दुई मिटर बढेको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा पर्ने कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पछिल्लो २४ घण्टाको अवधिमा पानीको सतह करीब दुई मिटर बढेको हो ।
जलाधार क्षेत्रमा परेको अविरल वर्षाका कारण आज बिहानसम्म जलाशयको सतह समुद्री सतहबाट एक हजार ५२१ दशमलव २१ मिटर पुगेको आयोजनाका कर्मचारी पूर्णबहादुर बलामीले जानकारी दिनुभयो । अघिल्लो दिन सोही समयमा पानीको सतह एक हजार ५१९ दशमलव ४८ मिटर थियो । कुलेखानी जलाशयमा समुद्री सतहबाट एक हजार ५३० मिटरसम्म पानी जम्मा गर्न सकिने क्षमता छ । वर्षाका समयमा पानी सञ्चय गरेर हिउँदमा अन्य विद्युत्गृहमा विद्युत् उत्पादन कम भएका बेला यहाँ उत्पादन हुने गरेको छ । आयोजनाको पहिलोबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रोबाट १४ मेगावाट क्षमतामा विद्युत् उत्पादन हुन्छ ।