नेपालमा आज थप १ हजार ४ सय ५५ जना कोरोना भाइरसबाट संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकोे नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज १ हजार ४ सय ५५ जना थपिएसंगै संक्रमण मुक्त हुनेको संख्या ५१ हजार ८ सय ६६ पुगेको र निको हुने दर ७३ दशमलव ४ प्रतिशत रहेको जानकारी दिनुभयो ।
यसैगरी नेपालमा आज १ हजार ३ सय १३ जना कोरोना भाइसरका संक्रमित थपिएका छन् । आज १२ हजार २ सय ६२ वटा नमूना परीक्षण गर्दा १ हजार ३ सय १३ जनामा संक्रमण पुष्टिभएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो । आज विभिन्न ५२ जिल्लाका थप ४ सय ५३ जना महिला र ८ सय ६० जना पुरूषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो संगै कोरोना संक्रमितको कूल सख्या ७० हजार ६ सय १४ पुगेको छ । आज काठमाडौ उपत्यकामा मात्रै ६ सय ४५ जना संक्रमित थपिएका छन् । आज काठमाडौका ५ सय ३ जना, ललितपुरका ९१ जना र भक्तपुरका ५१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी आज विभिन्न ७० जिल्लामा गरी १८ हजार २ सय ८९ जना सक्रिय संक्रमित रहेका छन् । रसुवा, सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला गरी ७ जिल्लामा भने कोही पनि सक्रिय संक्रमित नरहेको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमित मध्ये ८ हजार २ सय ३७ जना संस्थागत आइसोलेसन तथा १० हजार ५२ जना होम आइसोलेसनमा रहेका छन् । यसैगरी २ सय २७ जना गम्भिर लक्षण सहितका संक्रमितको आईसियुमा र ३९ जनाको भेन्टीलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
यस्तै आज थप ६ जना जनाको मृत्यु भएपछि हाल सम्म कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ४ सय ५९ पुगेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार आज मोरङ, काठमाडौ र कपिलवस्तुका १–१ जना महिला तथा मोरङ, ललितपुर र सप्तरीका १–१ जना पुरुषको मृत्यु भएको छ ।
यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि निर्धारण गरेको दायरा र मापदण्ड भन्दा बाहिरका व्यक्तिको रियल टाईम पिसिआर परीक्षण नर्गन अनुरोध गरेको छ । आजको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले कोरोनाको लक्षण देखिएका विरामी, शल्यक्रिया गर्नुपर्ने व्यक्ति, संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरू लगायत सरकारले निर्धारण गरेको मापदण्ड भित्र पर्ने व्यक्तिहरूको मात्रै परीक्षण गर्न अनुरोध गर्नुभयो । यसैगरी मन्त्रालयले कोरोना संक्रमितको उपचारमा प्रयोग भइरहेको रेम्डेसिविर औषधीको अभाव नभएको र सरकारले आवश्यकता अनुसार निःशुल्क उपलब्ध गराईरहेको जनाएको छ ।
आजको प्रेस व्रिफिङमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले लामो समय अस्पताल बस्नुपर्ने विरामीमा यो औषधिले फाईदा पुर्याएको देखिएको हुनाले परीक्षणका लागि मात्रै प्रयोगमा ल्याइएको बताउनुभयो । महानिर्देशक ढकालले कोरोना संक्रमितको उपचारमा प्रयोग हुने अन्य औषधिहरू समेत अभाव नरहेको समेत जानकारी दिनुभयो ।