मकवानपुर । मकवानपुरमा देउसी-भैलोलगायत सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रम राति ९ बजेसम्म मात्र खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाको शान्ति सुरक्षालाई ध्यानमा राख्दै तिहारको समयमा देउसी, भैलोलगायत सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रम राति ९ बजे सम्म मात्र खेल्न पाइने मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाँइले बताउनु भएकाे छ ।
निमित्त प्रजिअ चापागाँइले शुक्रवार एक सूचना जारी गदै चाडपर्व लाई सुरक्षित शान्तिपूर्ण एवं उल्लासमय वातावरणमा मनाउने परिस्थितिको लागि चाडपर्वको नाममा हुनसक्ने अवान्छिक कार्यहरूको नियन्त्रणमा सहयोग पुर्‍याउनु सबैको जिम्मेवारी भएकोले कानुन विपरीत शान्ति सुरक्षामा असर पुग्ने कार्य नगर्न आग्रह गर्नुभएकाे छ । चाडपर्व मनाउने क्रममा पटाका, भुइँचम्पा, आतिशवाजी लगायतका प्रज्वलनशील पदार्थ प्रयोग, बिक्री, वितरण, ओसारपसारे कार्य गर्न गराउन नर्पाइने, मादक पदार्थ सेवन गरी सार्वजनिक स्थलमा होहल्ला, र झैँ झगडा गरी शान्ति सुरक्षा लाई असर गर्ने गतिविधि गर्न गराउन नपाइने, जुवा तास, लङ्गुर बुर्जा जस्ता रुपियाँको हारजित हुने कानुन विपरितका खेल खेल्ने वा खेलाउने कार्य गर्न नपाइने, सवारी साधनमा क्षमता भन्दा बढी यात्रु राख्न र विभिन्न बहानामा यात्रुहरूसँग बढी रकम असुल गर्न नपाइने, बजारमा माल बस्तुहरूको कृत्रिम अभाव सृजना गर्ने, कालोबजारी गर्ने, तथा उपभोक्ता हकहित विपरितका कार्य गर्न गराउन नपाइने जारी सूचनामा उल्लेख गरिएको छ । यदि कसैले त्यस्ता कार्य गरेको पाइएमा कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिने समेत निमित्त प्रजिअ चापागाँइले बताउनु भएकाे छ ।