राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने बताउनु भएकाे छ । आइतबार राष्ट्रियसभा बैठकमा बोल्दै उहाँले भरतपुरमा धुर्मुस सुन्तली फाउण्डेशनद्वारा निर्माणाधीन क्रिकेट रङ्गशाला निर्माणको पूर्ण स्वामित्व र अपनत्व सरकार आफै वा भरतपुर महानगरपालिका लिने गरी निर्णय गर्न नेपाल सरकारसमक्ष अनुरोध गर्नुभयाे ।
उहाँले, ‘नेपालमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला आवश्यक छ भन्ने सन्देश हालैको आइसिसी विश्वकप लिगले पनि देखाएको छ । यसै सन्दर्भमा भरतपुरमा धुर्मुस सुन्तली फाउण्डेशनद्वारा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला निर्माणका काममा देखिएका व्यवधानहरूको अन्त्य गर्दै गेम चेन्जर परियोजनाको रूपमा रहन सक्ने सो रङ्गशाला निर्माणको पूर्ण स्वामित्व र अपनत्व आफै वा भरतपुर महानगरपालिका लिने गरी निर्णय गर्न नेपाल सरकारसमक्ष अनुरोध गर्दछु।’ भन्नुभयाे ।