मकवानपुर– लकडाउनको मौका छोपेर चुरे क्षेत्रमा ढुङगा गिट्टी बालुवाको चोरी निकासी बढेपछि ढुङगा गिट्टी बालुवा अनुगमन तथा समन्वय समितीे मकवानपुरले निगरानी बढाउने निर्णय गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् ढुङगा गिट्टी बालुवा अनुगमन तथा समन्वय समितीका संयोजक रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले नियन्त्रणका लागि निगरानी बढाउने निर्णय गरेको हो ।
समितिका संयोजक खुलालले उपसमितिलाई निग्रानी बढाउन निर्देशन समेत दिनुभएको छ । लकडाउनको समयमा साँझ, बिहान तथा राति समेत चुरे क्षेत्रमा खहरे दोहन भैरहेको जनगुनासो प्राप्त भएपछि अनुगमन समितिको बैठक बसेर निगरानी बढाउने निर्णय गरेको उहाँले बताउनुभयो । मंगलबारको बैठकमा डिभिजन वन कार्यालयका प्रमुखहरुको संयोजक्त्वमा बनेको उपसमितिद्धारा प्रस्तुत प्रतिवेदन पछि सो क्षेत्रमा चोरी निकासी बढेको पाईएकाले निगरानी बढाउने निर्णय भएको संयोजक खुलालले जानकारी दिनुभयो ।
त्यस्तै उक्त क्षेत्रमा चोरीपैठारी भएको पाईएकमा सूचना दिन स्थानीयलाई अनुरोध गर्नुका साथै यस्तो विषम परिस्थितीमा त्यस्ता गैरकानुनी कार्य नगर्न समेत आव्हान गरेको उहाँले बताउनुभयो । यदि चुरे क्षेत्रमा दोहन गरेर चोरीपैठारी गरेको फेला परेमा कानुन बमोजिम कडा करबाही हुने समेत उहाँले जानकारी दिनुभयो । बैठकमा जिल्ला समन्वय समति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललगायत समितिका सम्पुर्ण सदस्यहरुको उपस्थिती रहेको थियो ।