काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफु नेतृत्वको सरकारले राष्ट्रिय स्वाधीनता र राष्ट्रियताका पक्षमा नेपालीको शिर झुक्न नदिने गरी काम गरेको बताउनुभएको छ । ललितपुरको गोदावरीमा आज आयोजित ‘युवासँग म’ विशेष अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले मुलुकले आफ्नो स्ट्याण्ड लिएर नाकाबन्दीलाई परास्त गरेको उल्लेख गर्दै मुलुकको हितका लागि आफू कहिल्यै विचलित नभएको बताउनुभयो ।
युवाहरूको अनुभव अनुभूति र राज्यले गर्नुपर्ने मूलभूत सुझावहरू सुनेपछि उहाँले युवाहरूका असन्तुष्टि र आलोचना मात्र नभई बौद्धिक दृष्टिकोणबाट समाधान दिने क्षमता पनि भएको उल्लेख गर्नुभयो । अध्यक्ष ओलीले युवाहरूमा असन्तुष्टि मात्र नभई बेठिक र नाजायज कुरालाई ठिक ढङ्गमा लैजान मार्गनिर्देश गर्ने क्षमता समेत हुने गरेको बताउनुभयो ।
उहाँले युवाहरूको एकताबद्ध प्रयासले नै मुलुकलाई समृद्धितर्फ लैजाने बताउँदै आफूले युवाहरूको मुहारमा नै मुलुकको भविष्य देखेको धारणा समेत राख्नुभयो । अन्तरक्रियामा विभिन्न क्षेत्रका युवाहरूले आफ्ना अनुभव, अनुभूति र राज्यले गर्नुपर्ने मूलभूत विषयहरू भूमिका खेलिदिन आग्रह गरेका थिए ।