कार्तिक ६, २०७७ बिहिवार – शनिबार आश्विन शुक्ल प्रतिपदाबाट शुरु भएको नेपालीको महान् चाड बडा दशैँको बिहीबार छैठौं दिन । यस दिन कात्यायनी देवीको पूजा आराधना गरि धुमधामका साथ मनाइँदैछ । अष्टमातृका भगवतीको छैठौं शक्तिका रुपमा प्रादुर्भाव भएकी कात्यायिनी भगवतीको पूजा गरे रोग, शोक, भय, दुख दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास रहेको पाइन्छ ।
धर्मशास्त्रमा उल्लेख भएबमोजिम प्राचीन युगमा कात्या नाम गरेका महर्षिका छोरा कात्यायान ऋषिको छोरीको रुपमा भगवतीले जन्म लिएको हुनाले उनको नाम कात्यायिनी रहन गएको कथन रहेको छ । तिनै कात्यायिनीले महिशासुरको बध गरेको शास्त्रीय मान्यता रहेको छ । बडा दशैँमा पहिलो दिन शनिबार घरघरमा घटस्थापना गरी दियो, कलश र गणेश स्थापना गरेर वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गरेको स्थानमा दुर्गा देवीका तीनवटा रुपहरु महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आजा गरि मनाइन्छ ।
यस पर्वमा आश्विन शुक्ल पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यि नौवटा दुर्गाका रुपलाई नै नवदुर्गा पनि भन्ने गरिन्छ । दुर्गाको प्रतीकका रुपमा प्रतिप्रदाका दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुट्टै गरी नौवटी कन्याको पूजा समेत गर्ने गरिन्छ । यसरी पूजा गरिने कन्या दुई बर्ष .माथिका हुनुपर्ने शास्त्रीय विधान रहेको छ ।
बडादसैंको सातौं दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ भने महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दसैं घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्ने गरिन्छ । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिहरुको पाठ पारायण पनि गर्ने गरिन्छ । यसवर्षको दशैंको टीकाको शुभ साइत कात्तिक १० गते विहान १०ः१९ बजेर रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।