file-photo

मकवानपुर– कोभिड–१९ को संक्रमण बढ्दै गएपछि त्यसलाई रोक्न स्थानीय प्रशासनले मकवानपुरमा बाहिरी जिल्लाबाट हुने आवागमन पुर्ण रुपमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले साउन ३२ गतेसम्म मकवानपुरबाट अन्य जिल्ला र अन्य जिल्लाबाट मकवानपुरमा हुने आवागमनमा रोक लगाउने निर्णय गरेको हो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको बिशेष उपस्थितीमा प्रमुख जिल्ला अधिकारी दिपक नेपालको अध्यक्षतामा बसेको बैठकले बाहिरी जिल्लाबाट आवागमनमा पुर्ण रुपमा रोक लगाउने निर्णय गरेको हो । बैठकले कोभिड १९ को संक्रमणको जोखिम दिनानुदिन बढिरहेको र संक्रमण समुदायस्तरमा नै फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि भन्दै एक जिल्लाबाट अर्को जिल्लामा आउजाउ बन्द गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार मकवानपुर जिल्लाभित्र सञ्चालनमा रहेका उद्योग, कलकारखाना, व्यवसाय आदिमा अन्य जिल्लाबाट श्रमिक तथा कामदार ल्याउन पनि साउन ३२ गतेसम्म रोक लगाइएको छ । बैठकले सरकारी र निजी कार्यालय एवम् संघसंस्थामा कार्यरत कर्मचारीहरुको दैनिक रुपमा यस जिल्लाबाट अन्य जिल्लामा र अन्य जिल्लाबाट यस जिल्लामा हुने आवागमनमा समेत साउन मसान्तसम्म रोक लगाउने निर्णय गरेको छ ।
त्यस्तै बैठकले अत्यावश्यक वाहेकका सवारी पासमा समेत रोक लगाउने निर्णय गरेको छ । बैठकले प्रदेश मन्त्रालय तथा अन्य सरकारी कार्यालयका कर्मचारी समेत बिना काम बाहिरी जिल्ला जानमा रोक लगाएको छ । कामको सिलसिलामा बाहिरी जिल्ला जानु परेमा सम्बन्धीत प्रदेश मन्त्रालयको सचिवको सिफारीसमा काम खुलाएर आएमा मात्र पास उपलब्ध गराईने निर्णय भएको उहाँले जानकारी दिनुभयो । त्यस्तै सर्वसाधारणको हकमा सम्बन्धीत जिल्ला प्रशासनबाट सिफारीस भएमा मात्र पास उपलब्ध गराउने निर्णय भएको उहाँले जानकारी दिनुभयो । साथै उहाँले कोरोना संक्रमण बढ्दै गएको अहिलेको परिस्थितीलाई ध्यानमा राख्दै कोहि कसैले पनि पासका लागि सिफारीस नगर्न समेत आग्रह गर्नुभएको छ । बिशेष गरि राजनैतिक नेताहरु मार्फत यस्ता सिफारीस आउने गरेकाले तत्कालका लागि जिल्लाका नागरिकको हितलाई ध्यानमा राख्दै त्यस्ता सिफारीस नगर्न आग्रह गरिउको उहाँले बताउनुभयो ।
त्यस्तै बैठकले हेटौंडा बजारमा मानिसहरुको भिडभाड बढिरहेको हुनाले बजार क्षेत्रमा स्वास्थ्य तथा सुरक्षाका न्युनतम मापदण्डहरु पूरा भएरनभएको सम्बन्धमा प्रभावकारी अनुगमन गर्ने र न्युनतम मापदण्डहरु पालना नगर्नेलाई तत्काल कारबाही गर्ने, स्वास्थ्य सचेतना अभिबृद्धिका लागि नियमित रुपमा माईकिङ गर्ने, राजमार्गमा उच्च सर्तकता अपनाउने साथै कडाईका साथ अनुगमन गर्ने, समुदायस्तरमा कोरोना संक्रमणको सम्भावना उच्च देखिएको भन्दै स्वास्थ्यकर्मी परिचालन गरी सामान्य स्वास्थ्य जाँचलाई बढाउन स्थानीय तहहरुलाई अनुरोध गर्ने तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट भएका निर्णयहरुको कडाईका साथ कार्यान्वयन गर्ने÷गराउने निर्णयसमेत गरेको उहाँले जानकारी दिनु्भयो ।
बैठकमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख खुलालले सचेतना अभिबृद्धि तथा उच्च सर्तकता अपनाउने विषयमा कुनै कमी हुन नदिन सुझाव दिनुभयो । उहाँले जिल्लाका नागरिकको सुरक्षालाई पहिलो प्राथमिक्तामा राखेर काम अगाडी बढाउन सुझाव दिनुभयो । बैठकमा समन्वय अधिकारी आनन्दराज पोखरेल, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख, उद्योग संघ, उद्योग वाणिज्यसंघका प्रमुख एवम् प्रतिनिधिहरुलगायत कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका सदस्यहरुको उपस्थिती थियो ।