मकवानपुर – हेटौंडा–१० स्थित वन विज्ञान अध्यन संस्थानका विद्यार्थीहरुले चित्तल संरक्षणको माग गर्दै सोमबार प्रदर्शन गरेका छन् । पछिल्लो दुई सातामा खुल्ला रुपमा छाडिएका कुकुरको आक्रमणबाट चारवटा चित्तलको मृत्यु भएपछि विद्यार्थीहरुले चित्तल संरक्षणका लागि ध्यानाकर्षण गराउन हेटौंडा उपमहानगरपालिका अगाडि प्रदर्शन गरेका हुन् ।

पछिल्लो दुई साताको अवधिमा चित्तलका ४ वटा पाठापाठी कुकुरको आक्रमणमा मारिएपछि सरोकारवालालाई ध्यानाकर्षण गराउने प्रयास गरिएको विद्यार्थीहरुले बताएका छन् । विद्यार्थीहरुले उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईलाई कुकुरको आक्रमण रोक्न सहयोग गर्न आग्रह गरेका छन् । उपमहानगरपालिकाका मेयर र उपमेयर दुवैजनालाई नभेटिएपछि विद्यार्थीहरुले प्रमुख प्रशासकिय अधिकृतलाई ध्यानाकर्षण गराएका हुन् । प्रमुख प्रसासकिय अधिकृत चौलागाईले चित्तल संरक्षणमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

यस्तै विद्यार्थीहरुले डिभिजन वन कार्यालय मकवानपुरका प्रमुखलाइ शिव सापकोटालाई पनि भेटेर वन्यजन्तुमाथि भइरहेको आक्रमण र मृत्युलाई रोक्न आवश्यक पहल गरिदिन आग्रह गरेको छ । विद्यार्थीहरुले वन्यजन्तुको संरक्षणमा सरोकारवालाले ध्यान नदिएको भन्दै पटक–पटक ध्यानाकर्षण गराउँदै आएका छन् । तर, बजारक्षेत्रसँगै घना जंगल, नदि, घाँसे मैदान भएका कारण चित्तलको सुरक्षित बासस्थानको रुपमा वन विज्ञान क्याम्पस क्षेत्र रहे पनि खुला कुकुर नियन्त्रण नहुँदा चित्तल र मृग मारिने क्रम जारी छ ।