विश्व बैंकले नेपाललाई १२ करोड अमेरिकी डलर (झण्डै १६ अर्ब रुपैयाँ) बराबरको अनुदान दिने भएको छ । विश्व बैंक कार्यकारी निर्देशक बोर्डले आइतबार नेपाल सरकारको प्रमुख विद्यालय शिक्षा क्षेत्र कार्यक्रम कार्यान्वयन गर्न यो रकम बराबरको अनुदान दिने निर्णय गरेको हो ।
यो कार्यक्रम विगतको विद्यालय क्षेत्र कार्यक्रममा आधारित रहेको छ । मालदिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका कन्ट्री निर्देशक फारिस् हदाद जेर्भोसले गुणस्तरीय शिक्षामा लगानी गर्नु भनेको मानव पुँजीको विकासका लागि महत्त्वपूर्ण रहेको बताउनु भएकाे छ । यसले नयाँ संघीय राज्यको महत्त्वाकाङ्क्षा पुरा गर्न शिक्षाको गुणस्तर र समतामूलक पहुँच बढाउने नेपाल सरकारको दृष्टिकोणलाई समेत समर्थन गर्ने उहाँको भनाइ छ । यो अनुदान कोभिड–१९ का कारण बन्द भएका विद्यालयका कारण भएको हानीलाई सम्बोधन गर्न, उपयुक्त कक्षा कोठा निर्माण तथा डिजिटल शिक्षणलाई सुदृढ गर्न प्रयोग हुने समेत विश्व बैंकले जनाएको छ । साथै छात्रवृत्ति कार्यक्रममा समेत यसको प्रयोग हुने भएको छ ।