मकवानपुर – राष्ट्रियसभा सदस्यका लागि आज भईरहेको निर्वाचन अन्तरगत बागमती प्रदेशमा निर्वाचन प्रकृया सुरु भएको छ । हेटौंडा–८, स्थित औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृहमा बिहान ४० मिनेट ढिलागरि ९ बजेर ४० मिनेटमा मतदान सुरु भएको हो ।

९ बजे सुरु हुने भनिएको मतदान पानी परेका कारण निर्धारित समय भन्दा ४० मिनेट ढिलो शुरु भएका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनभयो । श्रेष्ठका अनुसार मतदान प्रक्रिया दिउँसो ३ बजे टुंगिने र ४ बजेपछि मतगणना सुरु हुने छ । निर्वाचनमा बागमती प्रदेशसभाका १०९ जना सदस्यहरु र प्रदेशका १३ जिल्लाका ११९ वटा स्थानीय तहका २ सय ३७ प्रमुख÷उपप्रमुख गरी कुल ३ सय ४६ जनाले मतदान गर्नु हुने छ । निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको मतभार १८ हुन्छ । जसअनुसार १०९ जना प्रदेश सभा सदस्यको ५ हजार २३२ मतभार रहेको छ भने स्थानीय तहका २३७ जना प्रमुख÷उपप्रमुखको ४ हजार २६६ रहेको छ । जसअनुसार बागमतीमा कुल ३४६ जना मतदाताको ९ हजार ४९८ मतभार गणना हुनेछ ।

राष्ट्रियसभा सदस्यका लागि बागमती प्रदेश महिला र अन्य गरी २ पदका लागि ६ जनाको उम्मेदवारी रहेको छ । सत्तारुढ गठबन्धनका दुई जना, नेकपा एमालेको तर्फबाट २ जना र नेपाल मजदुर किसान पार्टीबाट दुईजना गरी ६ जनाले मनोनयन दर्ता गराउनु भएको छ । गठबन्धन दलका तर्फबाट महिलामा नेकपा (एस) बाट गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल चुनावि मैदानमा हुनुहुन्छ । भने, विपक्षी दल नेकपा एमालेबाट महिलामा निरुकुमारी कुँवर र अन्यमा गोपाल शाक्य तथा नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङ उम्मेदवार हुनु हुन्छ ।

No description available.