मकवानपुर – हेटौंडा उपमहानगरपालिकाको नगर सभा आगामी आईतबार सम्मका लागि स्थगित भएको छ । शुक्रबारका लागि आव्हान भएको ११औं नगर सभामा आवश्यक गणपुरक संख्या नपुगे पछि मेयर मीना कुमारी लामाले आईतबार १ बजे सम्मका लागि बैठक स्थगित गर्नु भएको हो ।
शुक्रबार बिहान १० बजेका लागि आव्हान गरिएको नगर सभा नेकपा एमालेबाट निर्वाचित नगर सभा सदस्यहरुले उपस्थिति नजनाए पछि वैठक बस्न नसकेको हो । ९७ जना सदस्य रहेको नगर सभामा शुक्रबार ४० जनाले मात्रै उपस्थिति जनाएका थिए । गणपुरक संख्याको अभावमा बैठक बस्न नसकेको जानकारी गराउनहुँदै नगर प्रमुख मीना कुमारी लामाले अर्को बैठक असार १२ गते बस्ने जानकारी गराउनुभयो ।
नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट विधिअनुसार तयार नपारिएको भन्दै विरोध जनाउँदै आएका छन् । नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यको असहमतिका बीच नगर कार्यपालिकाको अल्पमतबाटै आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट नगर सभामा पेश गर्ने निर्णय गरिएको थियो । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने गरि करिब २ अर्ब ७१ करोड ७९ लाख बराबरको बजेट सार्वजनिक गर्ने तयारी गरेको छ । यता बहुमत सदस्य रहेको एमाले संसदिय दलले नगर सभाका बिषयमा जानकारी दिन ३ बजे एमाले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्ने जनाएको छ ।