हेटौँडा । बागमती प्रदेशसभा बैठक भोलि बुधबार बस्ने भएको छ । प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै बुधवारको लागि प्रदेशसभा बैठक आह्वान गरेको हो । बैठक बुधबार दिउँसो २ः१० बजे बस्नेछ ।
उक्त बैठकमा प्रदेश सरकारले जारी गरेका अध्यादेशहरूका प्रतिस्थापन विधेयकहरू पेस हुने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयका अनुसार उक्त बैठकमा निजामती कर्मचारीसम्बन्धी २ वटा अध्यादेशका प्रतिस्थापन विधेयक संसद् बैठकमा पेस गरिनेछ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई जगाउन बनेको विधेयक पनि संसदमा पेस गरिनेछ । यसअघि राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ संशोधनसम्बन्धी अध्यादेश जारी गरेको थियो । सो अध्यादेशले हेटौँडा अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अलग गर्ने तयारी गरेपछि एमालेले विरोध गरेको थियो । उक्त अध्यादेश निष्क्रिय पार्न वर्तमान सरकारले विधेयक ल्याएको हो । #prasashan.com