मकवानपुर – हेटौंडामा जारी पाँचौ संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्ड कप फुटबल प्रतियोगिता मनाङ मस्र्याङ्दी र हिलायन शेर्पा क्लबले आ–आफ्नो दावी पेश गरेका छन् । फाईनल खेल्नु अघि मंगलबार भएको पत्रकार सम्मेलनमा मनाङ र शेर्पा दुवैले उपाधि जित्ने दाबी गरेका हुन् ।

हेटौंडा– ५ पिप्ले क्याम्पा रंगशालामा जारी प्रतियोगिताको अन्तिम भिडन्त बुधबार हुँदैछ । ए डिभिजन लिगको सर्वाधिक सफल क्लब मनाङ मस्र्याङ्दी उपाधिका लागि हिमालय शेर्पासँग भिड्दै छ । गोल्डकपको पाँचौ संस्करणसम्म आइपुग्दा मनाङ र हिमालय शेर्पा दुवै पहिलो पटक उपाधिको दावेदार बनेका हुन । डिफेन्डिङ च्याम्पियन आर्मी क्वाटरफाइनलबाटै बाहिरिएसँगै मकवानपुर गोल्डकपले नयाँ विजेता पाउँदैछ । मनाङ वा हिमालयनको नाममा नयाँ इतिहास रच्ने सुनौलो मौका बनेको छ ।
२०६४ सालमा दोस्रो जनआन्दोलन सहिद स्मृति गोल्डकपका रुपमा आयोजित प्रतियोगिता थ्रीस्टारले जितेको थियो । प्रतियोगिताको दोस्रो संस्करण २०७५ सालमा जिल्ला फुटबल संघले गरेकोमा आयोजक मकवानपुर विजयी बनेको थियो । त्यसपछिका दुई गोल्डकप उपाधि विभागी टोली त्रिभुवन आर्मीले जितेको छ ।
पत्रकार सम्मेलनमा हिमालयन शेर्पाका प्रशिक्षक सुमन श्रेष्ठले उपाधि जित्ने लक्ष्य मैदानमा उत्रिने बताउनुभयो । हिमालयनका केही खेलाडी घाइते भएपनि फाइनल खेल्न समक्ष रहेको श्रेष्ठको भनाई छ । हिमालयनका कप्तान विश्वास श्रेष्ठ घाइते छन् । उनको सेमिफाइनल खेलमा एपीएफसँग खेल्दा लडेर हातमा चोट लागेको थियो । घाइते भए पनि फाइनल खेल्न सकिने कप्तान श्रेष्ठले बताउनुभयो । राष्ट्रिय टिमका गोलरक्षकसमेत रहेका मनाङका कप्तान दिप कार्कीले उपाधि जित्न सक्षम भएको बताउनुभयो । उहाँले मनाङसँग युवा खेलाडीहरु धेरै रहेको बताउनुभएको छ ।
मनाङसँग बार्सिलोनाका पूर्वडिफेन्डर सन् २०१४–०१५ मा बार्सिलोनाको सिनियर टोलीबाट खेलेका सेनेगलका दिवान्दु डियाग्ने नियाङ उज्वेकिस्तानका खेलाडी सिडजामोल डेबुलेशन जस्ता अनुभवी खेलाडी छन् । हिमालय शेर्पाले क्यामरुनी टोली एभिनियर एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको थियो । हिमालयनसँग पनि माउसालगायतका नेपालमा यसअघि विभिन्न प्रतियोगिता खेलिसकेका दुई अफ्रिकन खेलाडी छ । बलियो टिम एभिनियरलाई हराएको हिमायलनले मनाङलाई कमजोर प्रतिस्पर्धी नमानेको प्रशिक्षक श्रेष्ठले बताउनुभयो । मनाङसँग राम्रो टिम रहेको उहाँको भनाई छ । नेपाली फुटबलमा मनाङ र हिमालयन शेर्पाको प्रतिस्पर्धा भने रोमाञ्चक छ । विगतका प्रतिस्पर्धालाई हेर्दा हिमालयन शेर्पाको स्थापना र उसले माथिल्लो डिभिजनमा खेल्न थालेदेखि मनाङ मस्र्याङदीको बलियो प्रतिद्वन्द्वी भएर अगाडि आएको छ ।
जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा भएको प्रतियोगितामा विजेताले १५ लाख रुपैयाँसहित ट्रफी पाउनेछन् भने उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल पाउने छन् ।