मकवानपुर – हेटौंडामा जारी पाँचौ स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनल भिडन्त आज हुँदै छ । अीनतम भिडन्तमा उपाधिका लागि आज दुई ए डिभिजन टोली मनाङ मस्याङ्दी र हिमालयन शेर्पा क्बलबीच प्रतिस्पर्धा हुँदैछ ।
हेटौंड–५ स्थित पिप्लेक्याम्पा रंगशालामा मनाङ र शेर्पाबीचको खेल आज दिउँसो २ बजे सुरु हुनेछ । पाँचौ संस्करणसम्म आई पुग्दा पहिलो पटक फाइनलमा पुगेका यी दुई टोली उपाधि हात पार्ने दाउमा छन् । फाईनल खेल्नु अघि मंगलबार भएको पत्रकार सम्मेलनमा मनाङ र शेर्पा दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । मनाङ र शेर्पा बीचको उपाधि भिड्न्त निकै रोमाञ्चक हुने अनुमान छ ।
यस अघि सेमि फाईनलमा मनाङले सशस्त्र प्रहरीको एपिएफ र शेर्पाले क्यामरुनको एभिनियर एफसीलाई हराउँदै फाइनल यात्रा तय गरेको हुन् । २०६४ सालमा दोस्रो जनआन्दोलन सहिद स्मृति गोल्डकपका रुपमा आयोजित प्रतियोगिता थ्रीस्टारले जितेको थियो । प्रतियोगिताको दोस्रो संस्करण २०७५ सालमा जिल्ला फुटबल संघले गरेकोमा आयोजक मकवानपुर विजयी बनेको थियो । त्यसपछिका दुई गोल्डकप उपाधि विभागी टोली त्रिभुवन आर्मीले जितेको छ ।
जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा भएको प्रतियोगितामा विजेताले १५ लाख रुपैयाँसहित ट्रफी पाउनेछन् भने उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछ भने विधागत उत्कृष्ट खेलाडीहरुले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले बुलेट बाइक प्राप्त गर्नेछ । प्रतियोगिताका लागि सम्पूर्ण आर्थिक सहयाता मकवानपुरका स्थानीय तहहरुले गरेका छन् ।