हेटौंडा । बागमती प्रदेशसभा बैठक आज दिउसो बस्ने भएको छ । प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै आजको लागि प्रदेशसभा बैठक आह्वान गरेको हो । बागमती प्रदेश सभाको पहिलो अधिवशेनको दशौं बैठक आज दिउँसो २ः१० बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।
गत माघ २६ गते प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्बोधन गर्नुभएपछि उहाँलाई धन्यवादको प्रस्ताव पारित गरेर अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको बैठक आज बस्न लागेको हो । बैठक बस्नु अघि आजै बिहान ११ बजे बैठकको कार्यसूची तयार गर्न कार्य परामर्श समितिको सर्वदलीय बैठक बस्ने प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । गरिएको थियो ।
आजको बैठकमा प्रदेश सरकारले जारी गरेका अध्यादेशहरूका प्रतिस्थापन विधेयकहरू पेश हुने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयका अनुसार उक्त बैठकमा निजामती कर्मचारीसम्बन्धी २ वटा अध्यादेशका प्रतिस्थापन विधेयक संसद् बैठकमा पेश गरिनेछ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई जगाउन बनेको विधेयक पनि संसदमा पेश गरिनेछ । यसअघि राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ संशोधनसम्बन्धी अध्यादेश जारी गरेको थियो । सो अध्यादेशले हेटौंडा अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अलग गर्ने तयारी गरेपछि एमालेले विरोध गरेको थियो । उक्त अध्यादेश निष्क्रिय पार्न वर्तमान सरकारले विधेयक ल्याएको हो ।