हेटौंडा । संघीय सरकारबाट मकवानपुरको लागि ४ अर्ब २९ करोड ५८ लाख रुपैयाँको बजेट प्राप्त हुने भएको छ । आगामी आर्थिक वर्षका लागि संघीय सरकारले मकवानपुर जिल्लाका लागि यो बजेट पठाउने भएको हो । जिल्लाका दश वटा स्थानीय तहका लागि ४ अर्ब २९ करोड रुपैयाँ पठाउने भएको हो । जिल्लाका दश स्थानीय तह मध्यमा सबै भन्दा बढी हेटौंडा उपमहानगरपालिकाले संघीय बजेट प्राप्त गरेको छ ।
हेटौंडा उपमहानगरपालिकाले १ अर्ब १४ करोड ५० लाख रुपैयाँ, थाहा नगरपालिकाले ४५ करोड ४ लाख रुपैयाँ, ईन्द्र सरोवर गाउँपालिकाले २३ करोड ३६ लाख रुपैयाँ, कैलाश गाउँपालिकाले २८ करोड३२ लाख रुपैयाँ, बकैया गाउँपालिकाले ४६ करोड रुपैयाँ, बागमती गाउँपालिकाले ३५ करोड १४ लाख रुपैयाँ, भीमफेदी गाउँपालिकाले ३४ करोड ४६ लाख रुपैयाँ प्राप्त गर्ने भएका हुन् । मकवानपुरगढी गाउँपालिकाले ३ करोड ३८ लाख रुपैयाँ, मनहरी गाउँपालिकाले ३४ करोड २३ लाख रुपैयाँ, राक्सिराङ गाउँपालिकाले ३२ करोड १५ लाख रुपैयाँ संघीय बजेट प्राप्त गर्ने भएका छन् ।
आगामी आर्थिक वर्षका लागि संघीय सरकारबाट अनुदान वापत यो रकम प्राप्त गर्ने भएका हुन् । यसैगरी बागमती प्रदेशका १३ जिल्लामध्ये काठमाडौंले सबैभन्दा बढी अनुदान पाएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि बागमती प्रदेशका १३ जिल्लाका ११३ स्थानीय तहका लागि समानीकरण, सशर्त, विशेष र समपूरक शीर्षकमा अनुदान वित्तीय हस्तान्तरण गरेको हो ।जसमा काठमाडौँले सबैभन्दा बढी अनुदान पाएको छ भने सबैभन्दा कम रसुवाले पाएको छ । प्रदेशका १३ जिल्ला मध्ये काठमाडौँले ७ अर्ब १४ लाख रुपैयाँ अनुदान वित्तीय हस्तान्तरण पाएका हो भने रसुवाले एक अर्ब १६ करोड ५४ लाख रुपैयाँ अनुदान पाएको छ ।