मकवानपुर– मकवानपुर प्रहरीले “औषधि ढुवानी” शनिबार लेखेको मालबाहक कन्टेनरबाट करिब १८ लाख रुपैयाँ बराबरको गुट्खा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले पुर्व पश्चिम राजमार्ग अन्तरगत सवारी सुरक्षाजाँचका क्रममा सुर्तीजन्य वस्तु (गुट्खा) वरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरका इञ्चार्ज प्रहरी निरीक्षक अरुणकुमार कुस्वाहाको टोलीले ना ३ ख ४७८५ नम्बरको मालबाहक कन्टेनरबाट करिब ९ लाख रुपैयाँ बराबरको ५० बोरा गुट्खा पराग र करिब ९ लाख रुपैयाँ बढीको १७ बोरा रजनी गन्धा गुट्खा बरामद गरेको जनाएको छ । पशुपति ट्रान्सपोर्टले काठमाडौंबाट सिरहाको लहान, सप्तरीको राजबिराजका लागि पठाएको सो कन्टेनरमा केही मात्रामा औषधिजन्य वस्तु रहेको तर, बढी चकलेट, मोबाईल सहित इलेक्ट्रोनिक्स सामग्रीहरु फेला पारेको हो ।
प्रहरी निरीक्षक कुस्वाहाका अनुसार बरामद गरिएको सुर्तीजन्य वस्तुसहित सवारी साधनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ । पछिल्लो समय खाद्यान्न ढुवानी, औषधि ढुवानी, दूग्धजन्य ढुवानीको ब्यानर राखेर कानून विपरितका कार्यहरु गर्ने बढ्दै गएको उहाँले बताउनुभयो ।