हेटाैंडा – धनगढीमा आयोजित प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफले जितेको छ । आज फाप्ला क्रिकेट मैदानमा भएको फाइनल खेलमा प्रदेश नं.१ लाई ७ विकेटले पराजित गर्दै एपीएफले उपाधि उचालेको हो ।
६८ रनको लक्ष्य पाएको एपीएफले १४ दशमलव २ ओभरमा ३ विकेट गुमाउँदै जित हासिल गर्‍यो । उसका लागि ज्योति पाण्डेले अविजित ३७ रन र ममता चौधरीले १९ रनको बनाए । प्रदेश नं १ का लागि कप्तान रुविना क्षेत्रीले ३ विकेट लिइन् । त्यस अघि टस हारेर ब्याटिङ गरेको प्रदेश नं १ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ६७ रनको योगफल बनाएको थियो । उसका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३४ रन र अप्सरी वेगमले ११ रन बनाए ।
एपीएफका लागि कप्तान सीता राना मगरले ३, रेखा रावलले २ र करुणा भण्डारीले १ विकेट हात पारिन् । प्रतियोगिताको विजेता एपीएफले उपाधिसँगै नगद ५ लाख र उपविजेता प्रदेश नं. १ ले ३ लाख प्राप्त गरेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएकी प्रदेश नं १ कि कप्तान रुविना क्षेत्रीले २५ हजार पुरस्कार र मेडल हात पारिन् । नेपाल क्रिकेट सङ्घको आयोजनामा पुस ३ गते देखि धनगढीमा शुरु भएको उक्त क्रिकेट प्रतियोगितामा सात प्रदेशबाट ७ टोली र एपीएफ गरी ८ टोलीको सहभागिता रहेको थियो ।