मकवानपुर– मदन भण्डारी फाउण्डेशन मकवानपुरले स्व. नेता मदन भण्डारीको २७ औं स्मृति दिवशका अवसरमा बृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेको छ । स्मृति दिवशका अवसरमा फाउण्डेशनले आज हेटौंडा–१५ स्थित दिव्यसेवा निकेतन बृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेको हो ।
आज बिहान फाउण्डेशनका जिल्ला अध्यक्ष एवम् जिलला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले आश्रमलाई खाद्यान्न समग्री प्रदान गर्नुभएको हो । उहाँले आश्रमलाई ७५० केजी चामल, ३७ केजी दाल, २५ केजी नुन र ८० पीस साबुन हस्तान्तरण गर्नुभएको हो । मदन भण्डारीको स्मृति दिवशका अवसरमा फाउण्डेशनले हरेक वर्ष आश्रमलाई सहयोग गर्दै आएको उहाँले बताउनुभयो । हरेक वर्ष विविध कार्यक्रमको आयोजना गरेर स्मृति दिवश मनाउने गरिएको भएपनि यो वर्ष भने कोरोनाका कारण औपचारीक कार्यक्रम आयोजना नगरिएको उहाँले बताउनुभयो ।
कोरोनाका कारण आश्रममा आश्रित बृद्धबृद्धाहरुलाई समस्या नहोस भन्ने उदेश्यका साथ खाद्यान्न सामग्री सहयोग गरिएको अध्यक्ष खुलालले बताउनुभयो । सामग्री हस्तान्तरण कार्यक्रममा फाउण्डेशनका कोषध्यक्ष एवम् हेटौंडा–९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारी, सचिव आशाकाजी श्रेष्ठ, मदनभण्डारी स्पोर्ट एकेडेमी मकवानपुरका अध्यक्ष निरज सिंह ठकुरी, आकाश अधिकारीलगायतको सहभागिता थियो ।