मकवानपुर– तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको सम्झानामा आज नेपाल कम्युनिष्ट पार्टीले २७ औँ स्मृति दिवस मनाउँदै छ । मदन आश्रित स्मृति दिवश बागमती प्रदेशको राजधानी हेटौंडामा पनि मनाईएको छ ।
कोरोनाका कारण कुनै औपचारिक कार्यक्रम आयोजना नभए पनि हेटौंडा–११ स्थित सहिद स्मारकमा अवस्थित नेताहरुको सालिकमा पुष्पगुच्छा अपर्ण तथा माल्यार्पण गरेर दिवश मनाईएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ र ९ का वडा अध्यक्षलगायत नेताहरुले स्मारक पुगेर स्वर्गीय नेताहरुलाई सम्झनुभएको हो ।
सो अवसरमा मुख्यमन्त्री डोरमणि पौडेलले नेपालको कम्युनिस्ट आन्दोलनलाई जनताको बहुदलीय जनवाद जबजमार्फत लोकतान्त्रिक मार्गमा डोर्याउन मदन भण्डारी र जीवराज आश्रितको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले मदन भण्डारी र जीवराज आश्रित कम्युनिष्ट कार्यकर्ताका लागि आदर्श नेताका रुपमा रहेको भन्दै उहाँको आदर्श अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो । २०५० साल जेठ ३ गते दासढुंगामा भएको जीप दुर्घटनामा उहाँहरुको निधन भएको थियो ।