कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ३६ अर्ब २४ करोड २५ लाख १० हजार बराबरको बजेट सार्वजनिक गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजना मन्त्री हिक्मतकुमार कार्कीले मन्त्रालयमा आयोजित कार्यक्रममा आगामी आर्थिक वर्षको आय–व्यय बजेट सार्वजनिक गर्नुभयो ।
कुल विनियोजित बजेटमध्ये चालुतर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार, पूँजीगत खर्च १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार, वित्तीय व्यवस्थापनतर्फ १ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ६० करोड २९ लाख ९२ हजार रहेको छ । अध्यादेश मार्फत ल्याइएको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, लगायत पर्यटन क्षेत्रको प्रवर्द्धन, आर्थिक तथा भौतिक पूर्वाधार विकास, कृषि उत्पादनमा वृद्धि, सिँचाइ, गुणस्तरीय स्वास्थ्य सेवा, गरिबी निवारण, रोजगारी सृजना, विपद् व्यवस्थापन, वन वातावरणको संरक्षण, शान्ति सुव्यवस्था, गुणस्तरीय खानेपानी साथै आदिवासी, जनजाति, महिला, अपाङ्ग, दलित अल्पसङ्ख्यक तथा सीमान्तकृत समुदायको उत्थानमा जोड दिइने उल्लेख छ ।