वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत ९ जना संक्रमितहरु आज कोरोना मुक्त भई डिस्चार्ज भएका छन् । कोरोना मुक्त भएका पर्साका ४, बाराका २ र रौतहटका ३ गरी ९ जनालाई आज अपरान्ह ४ बजे डिस्चार्ज गरिएको नारायणी अस्पतालका कोरोना विभाग प्रमुख डा. उदयनारायण सिंहले जानकारी दिनुभयो ।
उनीहरुको पछिल्लो दुई वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको डा. सिंहले जानकारी दिनुभयो । डिस्चार्ज हुनेहरुमा पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर २ का ३० वर्षिय युवक, वडा नं ३ का ५० वर्षिय, वडा नं १६ का ५१ वर्षिय र ४२ वर्षिय भारतीय नागरिक गरी चार जना रहेका छन् ।
त्यसैगरी, बारा, जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का ४३ वर्षिय र सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ का ३१ वर्षिय पुरुष गरी २ जना, रहेका छन् । यसैगरी रौहतट ईशनाथ नगरपालिका वडा नं ८ का १९ वर्षिय, वृन्दावन नगरपालिका वडा नं ८ का २४ वर्षिय र देवाही गोनाही नगरपालिका वडा नं १ करुनियाका २२ वर्षिय पुरुष रहेका छन् ।
नारायणी अस्पतालमा उपचारत ९ जना डिस्चार्ज भएपछि अब अस्पतालको आईसोलेशनमा ६२ जना र गण्डक अस्पतालको आईसोलेशनमा २५ जना गरी ८७ जना संक्रमितहरुको उपचार बीरगञ्जमा जारी रहेको छ । जसमा १५ जना महिला र ७२ जना पुरुष रहेका छन् ।