हेटौंडा । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश सरकार स्थापनाकाे पाँच वर्षको अवधिमा गरेका कामको विवरण समेटिएको पुस्तक सार्बजनिक गरिएको छ । आज एक कार्यक्रमकाबीच मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पाँच वर्षे उपलब्धी समेटिएको पुस्तक सार्वजनिक गर्नुभएकाे हाे ।
पुस्तकमा प्रदेश सरकार स्थापना भएदेखि अहिलेसम्म गरिएका कामहरू र उपलब्धीहरु समेटिएको मुख्यमन्त्री जम्मकट्टेलले वताउनुभयो । प्रदेश सरकारले पाँच वर्षको अवधिमा धेरै काम गरेको र पुस्तकमा छोटकरी रुपमा समेटिएको उहाँले वताउनुभयो । २०७४ साल माघ ३ गते प्रदेशको अस्थायी राजधानी तोकिए देखि अहिलेसम्म प्रदेश सरकारले गरेका कामका विषयहरू तथा प्रदेशका मन्त्रालय पिच्छे गरिएका कामको विवरण पुस्तकमा समेटिएको प्रदेशका प्रमुख सचिब मुकुन्द प्रसाद निरौलाले वताउनुभयो ।
प्रदेश सरकार स्थापना पश्चात सम्पादित कार्यहरूको संक्षिप्त विवरण
– नेपाल सरकारले मिति २०७४ माघ ३ गते प्रदेश ३ को राजधानी हेटौडा तोकी प्रदेश प्रमुख नियुक्त गरेको र मिति २०७४ माघ २८ गते नेपालको संविधान बमोजिम प्रदेश प्रमुखबाट श्री डोरमणि पौडेललाई मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकारको गठन भएको ।
– शुन्यताबाट शुरु भएको प्रदेश सरकार स्थापनाको समयमा ७ मन्त्रालय र निकायहरू रहेकोमा हाल ११ मन्त्रालय तथा प्रदेश सरकार अन्तरगत निकाय १९८ कायम रहेका ।
– यस प्रदेश भित्र १३ जिल्ला, संघीय निर्वाचन क्षेत्र ३३, प्रादेशिक निर्वाचन क्षेत्र ६६ र तीन महानगरपालिका, एक उपमहानगरपालिका, ४१ नगरपालिका र ७४ गाउँपालिका गरी जम्मा ११९ वटा स्थानीय तहहरू रहेका
– सम्वत् २०७८ को जनगणना अनुसार बागमती प्रदेशमा पुरूष ३०३३५७४ महिला ३०५०४६८ गरी कूल ६०८४०४२ जनसङ्ख्या रहेका छन् ।
– प्रदेश सरकारबाट पाँच वर्षको अवधिमा ७० वटा ऐन संशोधन समेत, अध्यादेश ११, नियमावली ३३, निर्देशिका ५, कार्यविधि ४४, मापदण्ड ७ र आदेश १२ गरी जम्मा १८६ ओटा जारी भएको ।
– प्रदेशको पहिलो पाँच वर्षे आवधिक योजना निर्माण, कार्यान्वयन र त्यसको अर्धवार्षिक समीक्षा सम्पन्न गरिएको साथै प्रदेशको वस्तुस्थिति विवरण २०७५ तयार गरी तथ्याङ्क उपयोग गरिएको ।
– संघीय सरकारसंगको समन्वय र सहकार्यमा २० वटा समपुरक र विशेष अनुदानका आयोजनाहरू सञ्चालन र नवप्रवर्तन साझेदारी कोषमार्फत ११ वटा स्थानीय तहहरूमा नवप्रवर्तनात्मक परियोजनाहरू सञ्चालन गरी स्थानीय तहमा रोजगारी सिर्जना तथा आर्थिक विकासलाई प्रवर्द्धन गरिएको ।
– यस अवधिमा प्रदेश सुशासन केन्द्रमार्फत बागमती प्रदेश अन्तर्गत प्रदेश र स्थानीय तहमा निर्वाचित, मनोनित तथा नियुक्त पदाधिकारी तथा कर्मचारीहरूका क्षमता विकासतर्फ हालसम्म ५,११२ जनप्रतिनिधिहरू तथा ८,१७४ जना कर्मचारीहरू गरी कूल १३,२८६ जना लाभान्वित भएका ।
– प्रदेशमा आव २०७८र०७९ सम्ममा १५५१७९ उद्योग दर्ता भएको ।
– ९ वटा जिल्लामा १० शीत भण्डार निर्माणको कार्य सम्पन्न हुने अवस्थामा रहेको जसबाट १५८०० मेट्रिक टन फलफुल तथा तरकारी भण्डारणमा सहजता हुने ।
– १०४१ सिंचाई योजना सम्पन्न भई १३१३४८ हेक्टर जमीनमा सिंचाई सुविधा उपलव्ध भएको र १६ वटा नदीहरूको नदी नियन्त्रणको गुरु योजना तयार गरी नदी नियन्त्रणका कार्य शुरु गरिएको ।
– २७६ वटा खानेपानी योजनाहरू सम्पन्न भई थप ४६१९६ घरधुरीहरूमा आधारभूत स्तरको खानेपानी सेवा पुगेको
– यस अवधिमा कच्ची सडक ७६१ किमि, ग्राभेल ७७९ किमि, कालोपत्रे ५३६ किमि, ढलान सडक १५४ किमि, सडक पुल ६९ वटा र झोलुङ्गे पुल ७ वटा सम्पन्न भएका ।
– सहरी विकास तथा भवन पूर्वाधार तर्फ ३३० भवन, ४३४ पार्क निर्माण, १९५ सरकारी कार्यालय मर्मत र २०८९ जनता आवास निर्माण सम्पन्न ।
– प्रदेशभित्र ५३८९७५ सवारी दर्ता भएका र १०४३६ जनाले व्यावसायिक तालिम प्राप्त गरेका ।
– युवा उद्यमशीलता विकास अन्तरगत २६० स्वंयसेवक परिचालन, ४३ व्यवस्थित खेल मैदान, जिल्ला स्तरीय रङ्गशाला ७, कभर्ड हल ३० वटा सम्पन्न भएको ।
– सामुदायिक वन तथा अन्यक्षेत्रमा गरी ३९६ हेक्टरमा कूल ६२२९८५ जडिबुटीको विरूवा रोपण गरिएको ।
– वागमती प्रदेशलाई ९७। २२ प्रतिशत साक्षरता सहित नेपालकै पहिलो साक्षर प्रदेश घोषणा गरिएको ।
– उच्च शिक्षामा महिलाको पहूँच बढाउन स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत ५६७ छोरी बुहारीलाई छात्रवृति प्रदान गरिएको ।
– प्रदेशभित्र विभिन्न सूचकका आधारमा २० नमूना विद्यालय स्थापना , २२१ वटा शैक्षिक परामर्श केन्द्र सञ्चालन अनुमति ७२ विद्यालयलाई वस सेवा उपलव्ध, ३३१ माविमा इ लाइब्रेरी, १९७ विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना र २२१ वटा सामुदायिक क्याम्पसहरूलाई सवलीकरण गरिएको ।
– आधारभूत तहदेखि माध्यमिक तहसम्मका ३७८८ जना शिक्षकहरूलाई पेशागत विकास तालिम र ९०२५ जनालाई पुनरताजगी तालिम प्रदान गरिएको ।
– प्रदेशभित्रका पर्यटकीय पदमार्ग, मठमन्दिर, पार्क, पर्यटन सूचना केन्द्र, पिकनिक घर र होमस्टे गरी ११५५० स्थानको सवलीकरण र व्यवस्थापन गरिएको ।
– बागमती प्रदेशको पर्यटन ब्रान्ड नाम स्वीकृति गरी लागु गरिएको साथै जुगल हिमश्रृंखला आरोहण खुला गरी पहिलो आरोहण सम्पन्न गरिएको ।
– विद्यालय स्वास्थ्य, सरसफाई र छात्राहरूको स्वास्थ्य प्रवर्धनका लागि एक विद्यालय एक नर्स कार्यक्रम हालसम्म ११९ तहका ४५९ विद्यालयमा कार्यान्वयन गरिएको ।
– मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम र प्रदेशका १३ प्रादेशिक अस्पतालमा विशिष्टिकृत सेवा सञ्चालनमा ल्याइएको
– प्रदेश लोकसेवा आयोगबाट सार्वजनिक सेवा प्रवाहको लागि ८२५ विभिन्न पदको विज्ञापन मार्फत परीक्षा सञ्चालन गरी नियुक्तिको लागि सिफारिस भएको ।
– बागमती प्रदेशको स्थानीय मानव विकास प्रतिवेदन र दिगो विकास लक्ष्यको आधार तथा मार्गचित्र तयार गरिएको
– १३ जिल्लाका जिर्ण प्रहरी चौकी निर्माण गरी सुरक्षाकर्मीका लागि कार्य वातावरण उपयुक्त सिर्जना गरिएको ।
– यस अवधिमा प्रदेश सरकार र मातहतका निकायहरूलाई विपक्षी बनाई दायर भएका २०८ मुद्दामध्ये ७४ मुद्दा किनारा लागिसकेको जसमा ८१ प्रतिशत मुद्दामा सफलता प्राप्त भएको ।











