फाईल तस्वीर

मकवानपुर–बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाईले सुखि नेपाली समृद्ध नेपाल निर्माण गर्ने तर्फ अग्रसर बन्न सबैलाई आग्रह गर्नुभएको छ । प्रदेश सभा बैठकको दोस्रो वर्षिकोत्सवको आज प्रदेशको राजधानी हेटौंडामा उद्घाटन गर्दै प्रमुख प्रसाईले प्रदेश सरकारलाई विगतको कामको समिक्षा गर्दै सुखि नेपाली समृद्ध नेपाल निर्माणमा अग्रसर बन्न आग्रह गर्नुभयो ।

२०७४ साल माघ १८ गते प्रदेश सभाको पहिलो बैठक बसेको दिनलाई दोस्रो वर्षिकोत्सवका रुपमा मनाएको हो । कार्यक्रममा प्रदेश प्रमुख प्रसाईले केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकार तथा आम नागरिकको सकृयतामा समृद्धि प्राप्त गर्न सकिने बताउनुभयो । प्रदेशको स्थापना भएसंगै यसको अभ्यास सुरु भएको भन्दै उहाँले संविधानमा भएका कानून कार्यान्वयन चरणमा रहेको तथा मुलुक नयाँ युगमा प्रवेश गरेको बताउनुभयो । प्रदेश प्रमुख प्रसाईले प्रदेश सरकारले आम जनताको ईच्छा बमोजिमको न्याय मुलक विकासमा जोड दिनुपर्ने भन्दै प्रदेशसभाको उत्तर उत्तर प्रगतीको कामना समेत गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले परिस्थिति सोचे अनुरुप नभए पनि प्रदेशका काममा निरासा हुने अवस्था नरहेको बताउनुभयो । उहाँले विभिन्न अबरोधका बिच प्रदेश सरकारले जनताको आवश्यक्तालाई ध्यानमा राखेर काम काम अगाडी बढाएको बताउनुभयो । मुख्यमन्त्री पौडेलले प्रदेश राजधानी आउने छिट्टै सुरुङ्ग मार्ग बन्ने बताउनुभयो । प्रदेशको गेम चेन्जर प्रोजेक्टका रुपमा सुरुङ्ग मार्ग निर्माणमा लागेको बताउँदै उहाँले चैत महिनामा सुरुङ्ग मर्ग टेन्डरमा जाने बताउनुभयो ।
कार्यक्रममा बिपक्षि दलका नेता ईन्द्र बहादुर बानीयाँले प्रदेश सरकारले बजेट खर्च गर्न नसकेको भन्दै के गरि छिटो–छिटो गर्न सकिन्छ त्यस तर्फ लाग्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो । दुई तिहाईको बलीयो सरकार भएका बेला पनि बजेट खर्च गर्न नसक्नु राम्रो पक्ष नभएको उहाँको भनाई थियो । द्रत गतिमा प्रदेशको काम अगाडी बढोस भनेर उहाँले शुभकामना समेत व्यक्त गर्नुभएको थियो । प्रदेशको राजधानी आउने बटो छिटो र छरितो रुपमा निर्माण गरिनुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा सभामुख सानु कुमार श्रेष्ठले दुई वर्षको अवधिमा संविधान र प्रदेश सभा नियमावलीले दिएको अधिकार प्रयोग गरी कानून बनाउने, सरकार गठन गर्ने, सरकारको नीति कार्यक्रम र बजेट पास गर्ने, प्रदेश सरकारबाट भए गरेका काम कारकाहीको निगरानी गर्ने काम गर्दै आएको बताउनुभयो । प्रदेश सभाबाट हाल सम्म चार वटा अधिवेशन भै पाँचौ अधिवेशन सञ्चालन भईरहेको सभामुख श्रेष्ठले बताउनुभयो । चार वटा अधिवेशनमा पहिलोमा १९, दोस्रोमा ६१, तेस्रोमा ९ र चोथोमा ३८ वटा गरि कुल १२७ वटा बैठक बसेको उहाँले जानकारी दिनुभयो । त्यस्तै यस अवधिमा ४५ वटा विधेयक दर्ता भएर सबै पारित भै प्रमाणीकरण समेत भईसकेको तथा चालु अधिवेशनमा एउटा अध्यादेश सहित चारवटा विधेयक दर्ता भएकोमा अध्यादेश स्वीकृत भएको र दुग्ध विकास बोर्ड ऐन २०७५ लाई संसोधनगर्न बनेको विधेयक पारित भईसकेको बताउनुभयो ।

कार्यक्रममा सरकारी आश्वासन समितिका सभापति राम नारायण बिडारी, प्रदेशसभा सदस्यहरु, प्रमुख सचेतक र सचेतकहरु, बिषयगत समितिका सभापति एवम् सदस्यहरु, प्रदेश सरकारका सचिवहरु, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल तथा मकवानपुरका स्थानीय तहका पदाधिकारीहरु, विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता थियो ।

कार्यक्रममा पहिलो र दोस्रो वर्ष सबै प्रदेश सभा बैठकमा सहभागि हुनुभएका प्रदेशसभा सदस्य देवकी श्रेष्ठ र दोस्रो वर्ष सबै बैठकमा सहभागि हुनुभएका प्रदेश सभा सदस्य मैना अछामी र सरस्वती बस्नेतलाई प्रसंसापत्रद्धारा सम्मानीत गरिएको थियो ।