मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले हेटौंडा अस्पतालमा स्थापना गरिएको स्यानिटाईज स्टेसनको मंगलबार उद्घाटन गर्नुभएको छ । मकवानपुर उद्योग वाणिज्य संघले स्थापना गरेको स्यानिटाइज स्टेसनको प्रमुख खुलालले उद्घाटन गर्नुभएको हो । स्टेसनको उद्घाटन गर्दै प्रमुख खुलालले कोरोनाको विपद परेको अवस्थामा संघले गरेको कार्यको प्रशंसा गर्नुभयो । विश्वभर महामारिको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) लाई सबैको सहयोग र सहकार्यले मात्र परास्त गर्न सकिने भन्दै सबैको धैर्यता, बलीयो आत्मबल तथा सहयोगका लागि आग्रह गर्नुभयाे ।

अस्पतालमा आउने व्यक्तिलाई स्यानिटाइज गरेर प्रवेश गराउने उद्देश्यका साथ स्टेसन हेटौंडामै तयार पारिएको संघका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिनुभएको छ । संघका सदस्य विष्णु खनालको संयोजकत्वमा सहमत अन्सारीको सहयोगमा करीब ३८ हजार रुपैयाँ लागतमा तयार भएको उहाँले जानकारी दिनुभयो । अध्यक्ष कटुवालले २ नम्बर प्रदेशसँगको सीमाक्षेत्रबाट प्रवेश गर्ने सवारी साधनलाई स्यानिटाइज गर्ने गरी स्यानिटाइज स्टेसन निर्माणको कार्य पनि भइरहेको समेत जानकारी दिनुभएको छ । करीब २ देखि ३ लाख लागतमा सो स्टेसन तयार हुने र अबको दुई तीन दिनमै स्थापना गर्ने तयारी भएको उहाँले बताउनुभयो । कार्यक्रममा मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुशिल सिंह राठोरलगायत उधोग वाणिज्य संघका पदाधिकारीहरू सहभागिता थियाे ।