मकवानपुर – जननेता मदनकुमार भण्डारीको ७१औं जन्मजयन्तीका अवसरमा हेटौंडामा सोमबार हेटौंडामा वक्तृत्वकला प्रतियोगिता आयोजना भएको छ । मदन भण्डारी फाउण्डेशन मकवानपुरको आयोजनामा “मैले बुझेको मदन भण्डारी” शीर्षकमा १८ देखि २५ वर्षका युवाहरुको बीचमा प्रतियोगिता आयोजना भएको हो ।
फाउण्डेशनका जिल्ला अध्यक्ष रघुनाथ खुलालको अध्यक्षता एवम् बागमती प्रदेशका प्रथम मुख्यमन्त्री, फाउण्डेशनका केन्द्रिय सदस्य डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा कायृक्रम भएको हो । ”मैले बुझेको मदन भण्डारी” शीर्षकमा आयोजित वक्तृत्वकला प्रतियोगितामा सुनिल न्यौपाने प्रथम, सफल उप्रेती द्धितीय, उचित बजगाई तृतीय र प्रकृति अर्याल र प्रशन्ना गौतम सान्त्वना भएका थिए । कुल १८ जना प्रतिष्पर्धिको सहभागिता रहेको प्रतियोगिताका विजेतालाई कार्यक्रमका प्रमुख अथितीलगायतले पुरस्कार प्रदान गर्नुभएको कार्यक्रम संयाेजक एवम् फाउण्डेशनका सदस्य कुमार केसीले जानकारी दिनुभयाे । कार्यक्रममा एमाले बागमती प्रदेश कमिटी सदस्य भोजराज ढकाल, जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, नगर अध्यक्ष सालिकराम पुडासैनीलगायतको उपस्थिती थियो ।
जननेता मदन भण्डारीको ७१ औं जन्मजयन्ती फाउण्डेशनले विभिन्न कार्यक्रम गरेर साताव्यापी रुपमा मनाउँदै छ । जस अन्तरगत पहिलो दिन हिजो रक्तदान कार्यक्रम र आज वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको फाउण्डेशनका अध्यक्ष खुलालले बताउनुभयो । नेकपा (एमाले) का तत्कालीन महासचिव भण्डारीको यही असार १४ गते पर्ने जन्मदिनका अवसरमा फाउण्डेशनले भोली हेटौंडा–११, स्थित शहिद स्मारकमा मदन भण्डारीको प्रतिमामा माल्यापर्ण र हेटौंडा–९, स्थित दिव्य वाल उद्यानमा बृक्षारोपण कार्यक्रम आयोजना गर्ने अध्यक्ष खुलालले बताउनुभयो ।
तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको जन्म विसं २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको थियो भने निधन २०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा भएको थियो । पोखराबाट चितवनको कार्यक्रममा जाने क्रममा भएको उक्त जीप दुर्घटनामा सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको पनि निधन भएको थियो ।