हेटौंडाः बागमती प्रदेशस्तरीय महिला उद्यमी सम्मेलन तथा उपज प्रर्दशनी आजबाट हेटौंडामा सुरु भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्य तथा बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री मिलनबाबु श्रेष्ठको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।
४९ वटा स्टलमा बागमती प्रदेशका १३ वटा जिल्लाबाट उद्यमीले आफ्नो उत्पादनलाई प्रदर्शनी गरेका थिए । महिला उद्यमीलाई प्रोत्साहन गर्न र उत्पादनलाई बजार उपलब्ध गराउन कार्यक्रमको आयोजना गरिएको हो । सानो उद्यमीलाई बैंकले ऋण नदिने कारण समस्या भएको नेपाल घरेलु तथा साना उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष सूर्य बहादुर कँडेलले बताउनुभयो । उहाँले ठुला उद्योग गर्नेलाई बैंकले सजिलै ऋण दिने गरेको बताउनुभयो । स्थानीय तथा प्रदेश सरकारले नागरिकले तिरेको करको सही सदुपयोग र उद्यमीको आवश्यकताहरुलाई पूरा गरे उद्यमीको व्यवसायमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै उद्यमीहरुले आफ्नो व्यवसायमा आएको समस्यालाई अगामी दिनमा प्रदेश र स्थानीय सरकार सहयोग गर्ने आशा बोकी अगाडी बढिरहेको बताएका छन् । उद्यमीहरुले व्यवसाय चलाउन सहजीकरण गर्नपनि आग्रह गरेका छन् । नेपालमा महिला उद्यमी उत्पादनका लागी प्रदेश सरकारले महिला उद्यमीलाई साथ र सहयोग गर्नुपर्ने माग गरेका छन् । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको सहकार्य तथा नेपाल घरेलु तथा उद्योग महासंघ बागमती प्रदेश समितीको समन्वयमा कार्यक्रम भएको हो । कार्यक्रम भोली मंगलबारसम्म सञ्चालन हुनेछ ।