मकवानपुर । बागमती प्रदेश सभाका नवनिर्वाचित सभामुख भुवन कुमार पाठकले पद तथा गाेपनियताकाे सपथ ग्रहण गर्नुभएको छ । शुक्रबार प्रदेश सभाको सभामुखमा निर्वाचित हुनुभएका पाठकलाई बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभा नियमावली २०७४ को नियम ८ अनुसार पद तथा गाेपनियताकाे सपथ ग्रहण गराउनु भएको हो ।
शुक्रबार सभामुख पदको लागि भएकाे मतदानमा सत्ता गठबन्धनको तर्फबाट उम्मेद्वार पाठकले ६२ मत प्राप्त गर्नुभएको थियाे । मतदानमा पाठकको विपक्षमा ३९ मत र तटस्थमा ७ मत प्राप्त भएको थियो ।
मत विभाजनमा नेपाली कांग्रेसका शिवराज अधिकारीलाई सभामुखमा ३६ मत प्राप्त भएको थियाे । यस्तै, प्रस्तावको विपक्षमा ६५ मत र ७ मत तटस्थ रहेको थियाे । नेपाल मजदुर किसान पार्टीबाट सभामुखमा उम्मेदवार दिनुभएको सिर्जना सायजुलाई ३ मत प्राप्त भएको थियाे । यस्तै, प्रस्तावको विपक्षमा ९८ मत र ७ मत तटस्थ रहेको थियाे । प्रदेशको सभामुख निर्वाचनमा १ सय ९ जना प्रदेश सभा सदस्यहरुको उपस्थित रहेको थियो ।
सपथग्रहण कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, बिना बिभागिय मन्त्री उद्धब थापा, प्रदेशसभाका सदस्यहरु, प्रदेश सरकारका सचिबहरु लगायतकाको आतिथ्यता रहेको थियो ।