मकवानपुर – बागमती प्रदेश सरकारले प्रदेशका ११९ स्थानीय तहमा “एक वडा, एक पशु चिकित्सक” कार्यक्रम सञ्चालन गर्ने भएको छ । कृषकलाई सहज बनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेशका ११ सय भन्दा बढी वडामा पशु चिकित्सक खटाउने तयारी गरेको हो ।
पशुपन्छी तथा मत्स्यमा लाग्ने रोगहरुको अन्वेषण, नियन्त्रण, रोकथाम तथा उन्मुलन गरि कृषकलाई सहजता प्रदान गर्ने उद्देश्यका साथ प्रदेश सरकारले एक वडा एक पशु चिकित्सक कार्यक्रम अघि सारेको मन्त्रालयका सचिब डाक्टर शरण कुमार पाण्डेले जानकारी दिनुभयो । स्थानीय तहको वडासम्मै नै प्राविधिक सेवा विस्तार गर्न, पशु सेवालाई सहज, सरल, पहुचयोग्य बनाई छिटो छरितो र गुणस्तरीय सेवा प्रदान गर्न, ग्रामिण क्षेत्रमा पशु सेवा प्रदायक र कृषकहरु बीचको दुरी कम गर्दै पशुपन्छी क्षेत्रको विकासको लागि एक वडा एक पशु चिकित्सक कार्यक्रम यसैवर्षबाट सुरु गर्ने गरी तयारी थालिएको सचिब पाण्डेले बताउनुभयो । त्यसका लागि स्थानीय तहसगँ समन्वय गरि वडाहरुमा पशु स्वास्थ्य क्लिनिक स्थापनाकालागि प्रस्ताव गर्न मातहतका कार्यालयहरुलाई परिपत्र समेत गरिसकिएको उहाँले बताउनुभयो ।
प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेशमा कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रको विकासका लागि ५१ बुदे मार्गचित्र सार्वजनिक गरेको थियो । सो मार्गचित्रमा पशु स्वास्थ तथा क्लिनिकल सेवालाई विस्तार गर्न स्थानीय तहसगँको समन्वयमा एक वडा एक पशु स्वास्थ्य क्लिनिक सञ्चालनमा जोड दिईएको थियो । कार्यक्रमवाट व्यवसायीक पशुपन्छीपालनका आधुनीक प्रविधिमा कृषकको पहुच पुग्नुका साथै पशुमा लाग्ने रोगहरुको न्यूनिकरण र निराकरण गर्न सहज हुने सचिव पाण्डेले बताउनुभयो । उहाँले यो वर्ष केही पशु चिकित्सक राख्ने र अर्को बर्ष पुरै कार्यक्रम सञ्चालन गरिने जानकारी समेत दिनुभयो ।