प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले माओवादी केन्द्रका दुई र नेकपा एमालेका एक जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिनुअघि माओवादी केन्द्रका जीवन आचार्य र दुर्गा चापागाईं तथा नेकपा एमालेबाट बुद्धिकुमार राजभण्डारीलाई मन्त्री नियुक्त गर्नुभएकाे हाे । तर मन्त्रालय भने तोकिएको छैन ।
यसअघि मुख्यमन्त्री कार्कीले एमाले, राप्रपा र जसपाका एक/एक जनालाई विनाविभागीय मन्त्रीका रूपमा शपथ ग्रहण गराइ चार सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको थियो । गएको आइतवार ६० सांसदको समर्थनमा कार्की मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । आज दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । प्रदेश सभाको आजको बैठकमा उहाँले विश्वासको मत लिनुहुनेछ । प्रदेश १ प्रदेश सभामा कुल ९३ सदस्य रहेकामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।